Logo
८ वैशाख २०८१, शनिबार

दाङमा ‘हेविवेट’ पुरुष उम्मेदवारलाई महिला उम्मेदवारको कडा चुनौती

अक्षरपाटी
२०७९ मंसीर १ , बिहीबार ११:११ मा प्रकाशित

दाङ, १ मङ्सिर। आज प्रचारप्रसाको अन्तिम दिन। दाङमा पनि चुनावी प्रचारको अन्तिम रौनक देखिन्छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवार ‘हेविवेट’ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्।

दाङ क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका मेटमणि चौधरी र उनको प्रतिस्पर्धीमा एमालेकी शान्ता चौधरी चुनावी मैदानमा छन्।

दाङ क्षेत्र नं २ मा एमालेका शंकर पोखरेलसँग सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्मा तथा दाङ ३ मा नेपाली कांग्रेसका दीपक गिरीसँग एमालेकी कोमल वलीले प्रतिस्पर्धा कडा देखिएको छ।

मेटमणि सहरी विकासमन्त्रीसमेत हुन। उनी दोस्रो पटक निर्वाचन लड्दै छन्। यसअघि ०७४ सालमा वाम गठबन्धन हुँदा देउखुरीबाट कांग्रेसका उम्मेदवार सुशीला चौधरीलाई हराउँदै उनी विजयी भएका थिए।

०६४ मा पहिलोपटक समानुपातिकतर्फबाट एमाले सांसद भएकी शान्ता ०७४ सालमा पनि समानुपातिकबाटै सांसद हुँदै सचेतक भएकी थिइन्। उनी एमाले अध्यक्ष केपी ओलीको विश्वासपात्रका रुपमा चिनिन्छन्।

दुई पटक समानुपातिकबाट सांसद भएकी शान्ता प्रत्यक्षतर्फ दोस्रोपटक प्रतिस्पर्धा गर्दैछन। ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा उनी दाङ २ मा प्रत्यक्षतर्फ कांग्रेसकी सुशीला चौधरीसँग पराजित भएकी थिइन्। अहिले सोही क्षेत्रबाट मेटमणिसँग प्रतिस्पर्धा गर्दैछन्।

तत्कालीन अवस्थामा क्षेत्र नं २ देउखुरी क्षेत्रमा पर्थ्यो । संघयतापछि समग्र देउखुरीलाई समेटेर घोराही र बंगलाचुलीको केही वडा समेटेर क्षेत्र नं १ बनाइएको हो।

अहिले पनि भूगोलका हिसाबले त्यही क्षेत्रबाट निर्वाचन लड्दैछन्। यद्यपि उनको मतदाता नामावली भने घोराही उपमहानगरपालिका–४ मा पर्छ, जुन निर्वाचन क्षेत्र नं २ हो।

गत स्थानीय तह निर्वाचनमा गठबन्धन एमालेभन्दा दोब्बर मतले अघि देखिन्छ।

एकीकृत समाजवादीलाई कांग्रेस र माओवादीले साथ दिएकाले मेटमणिलाई जित्न सहज हुने देखिन्छ। गठबन्धनको मत सबै आफूलाई प्राप्त हुने चौधरीको दाबी छ।

“यो गठबन्धन कुनै चुनाव जित्नलाई मात्रै नभई यो विशेष परिस्थितिमा मुलुक जोगाउन गरिएको हो”, उनले भने, “त्यसैले गठबन्धनको मत बाहिर जाँदैन, चुनाव हामीले जित्छौँ ।”

यो क्षेत्रमा ०७४ सालमा कांग्रेसले २१ हजार तीन सय २९ समानुपातिक मत पाएको थियो भने एमालेले २२ हजार पाँच सय ९९ र माओवादी केन्द्रले १४ हजार आठ सय छ मत ल्याएको थियो। एमाले विभाजन भए पनि मतमा भने खासै अन्तर देखिएको छैन।

थारुको बाहुल्यता भएको यो निर्वाचन क्षेत्रमा सबै उम्मेदवारको आँखा थारु मतदातामै छ। शान्ताले आफू पूर्वकमलरी हुँदै कमलरी मुक्तिका लागि खेलेको भूमिका महत्वपूर्ण भएकाले थारु समुदायले भोट दिने अपेक्षा गरेकी छन।

“थारु समुदाय निकै पछाडि परेको समुदाय हो, म आफैँ पनि अर्काको घरमा कमलरी बसेर आएको मान्छे हुँ”, उनले भने।

क्षेत्र नंं १ मा एमालेका केन्द्रीय सदस्य गंगा चौधरीले पार्टी परित्याग गरी भर्खर खुलेको हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी छन। उनी दुई पटक समानुपातिकतर्फबाट सांसद हुन।

विसं ०७० मा उनी थरुहट तराई पार्टीको तर्फबाट समानुपातिक सांसद हुन भने ०७४ सालमा एमालेको तर्फबाट समानुपातिक सांसद थिइन्।

दाङ क्षेत्र नं २ मा एमाले शंकर पोखरेलसँग गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्माबीच चुनावी टक्कर हुने देखिन्छ।

०७० र ०७४ को निर्वाचनमा उनी समानुपातिक सांसद थिइन । ०७२ मा उनी सामान्य प्रशासनमन्त्री समेत भइन्। अहिले शर्माले पोखरेलसँग पहिलोपटक प्रत्यक्ष निर्वाचनतर्फ सामना गर्दैछन्।

एमाले महासचिव पोखरेल पनि धेरै पटक प्रत्यक्ष निर्वाचन लडेका व्यक्ति हुन। ०५१ को प्रतिनिधिसभा सदस्य र ०७४ सालको प्रदेशसभा निर्वाचनमा मात्रै उनले सफलता हात पारेका छन।

उनले ०५६ सालको चुनावमा कृष्णकिशोर घिमिरेसँग हार ब्यहोर्नुपर्यो भने ०७० सालको निर्वाचनमा दाङ क्षेत्र नं ४ बाट बुद्धिराम भण्डारीसँग पराजित भए।

०६४ को निर्वाचनमा भने उनी समानुपातिक सांसद बने । त्यसबीचमा उनी मन्त्री भए भने ०७४ को निर्वाचनपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने।

त्यतिबेला उनले दाङ क्षेत्र नं २ को प्रदेशसभा १ बाट चुनाव जिते । स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा ‍एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

०७४ मा कांग्रेसले २२ हजार ९२ समानुपातिक मत पाएको थियो, भने एमालेले २२ हजार आठ सय ६९ र माओवादी केन्द्रले १७ हजार पाँच सय ८४ मत ल्याएको थियो।

दाङ क्षेत्र नं ३ मा पटक–पटक प्रत्यक्ष निर्वाचन लडेर निखारिएका कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीसँग एमालेकी कोमल वलीले पहिलोपटक प्रतिस्पर्धा गर्दैछन्।

गिरीले यसअघि एक पटक मात्रै निर्वाचन जितेका छन् । ०५१ मा तत्कालीन दाङ क्षेत्र नं ३ बाट एमाले नेता शंकर पोखरेलसँग हार ब्यहोरेका गिरीले ०५६ सालमा निर्वाचन लडेनन्।

उनको ठाउँमा गेहेन्द्र गिरीले चुनाव लडे । र उनले जित हात पारे। ०६४ मा दाङ क्षेत्र नं ५ बाट माओवादीकी सुष्मा शर्मा घिमिरेसँंग गिरी पराजित भए। ०७० मा भने उनले चुनाव जिते। उनी ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका तत्कालीन जिल्ला सचिव हीराचन्द्र केसीसँग पराजित भए। वली भने यसअघि एमालेबाट ०७४ सालमा राष्ट्रियसभा सदस्य भएकी थिइन्।

०७४ को निर्वाचन अनुसार कांग्रेसले यो क्षेत्रमा ३० हजार पाँच सय ७२ समानुपातिक मत पाएको थियो भने एमालेले २७ हजार पाँच सय ४३ र माओवादी केन्द्रले १० हजार आठ सय पाँच मत पाएको थियो।

दाङ महिला उम्मेदवार