Logo
१४ वैशाख २०८१, शुक्रबार

३ महिनामा विदेशीले नेपालमा साढे ११ अर्ब खर्चिँदा नेपालीले विदेशमा २६ अर्ब रुपैयाँ खर्च गरे

अक्षरपाटी
२०७९ मंसीर १ , बिहीबार ०३:११ मा प्रकाशित

काठमाण्डौ । विदेशीले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च दोब्बरभन्दा धेरै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको त्रैमासिक वित्तीय अवस्थाअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद सेवा आय २१ अर्ब ७० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा खुद सेवा आय २३ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत पछिल्लो तीन महिनामा विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय एक सय १० प्रतिशतले वृद्धि भइ ११ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा भ्रमण आय जम्मा पाँच अर्ब ४२ करोड रुपैयाँ मात्रै रहेको थियो ।

यस्तै साउन, भदौ र असोजमा सेवा खाताअन्तर्गत नेपालीले विदेशमा गर्ने खर्च अर्थात् व्यय ६२ दशमलव ३ प्रतिशतले वृद्धि भइ २६ अर्ब चार करोड रुपैयाँ पुगेको छ । नेपालीले वैदेशिक शिक्षाका लागि मात्रै तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको तीन महिनामा भ्रमण व्यय १६ अर्ब चार करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको खर्च जम्मा आठ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।