Logo
१६ चैत्र २०८०, शुक्रबार

एक वर्षमै ९ लाख ३३ हजार बढीले लिए ई-पासपोर्ट

अक्षरपाटी
२०७९ मंसीर २ , शुक्रबार ०५:११ मा प्रकाशित

काठमाडौँ । राहदानी विभागले एक वर्षमै ९ लाख ३३ हजार २९३  सेवाग्राहीलाई विद्युतीय पासपोर्ट ( ई-पासपोर्ट राहदानी ) जारी गरेको छ ।

२०७८ मंसिर १ गतेदेखि पहिलोपटक विद्युतीय राहदानी वितरण गरिएको थियो । विभागका अनुसार २०७९ मंसिर १ गतेसम्ममा ९ लाख ३३ हजार २९३ राहदानी जारी गरेको हो ।

राहदानी विभागबाट ३ लाख ३४ हजार ५८३, जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट ५ लाख १६ हजार ८०५ र विदेशस्थित नियोगहरूबाट ८१ हजार ९०५ राहदानी जारी गरिएको विभागले जनाएको छ ।

७७ जिल्ला, १७ इलाका प्रशासन कार्यालय र विदेशस्थित ३८ वटा कूटनीतिक नियोगबाट जारी भइरहेको विभागले प्रस्ट पारेको छ ।

विभागका अनुसार राहदानीको राजश्व विद्युतीय माध्यमबाट तिर्न सकिन्छ । सेवा प्रवाहमा सहजता ल्याउन ‘नेपाल इ-पासपोर्ट’ मोबाइल एपको निर्माण भएको छ । अनलाइन प्रणालीलाई सेवाग्राहीमैत्री बनाउने काम जारी भइरहेको छ ।

राहदानी छिटो बनाइदिने, अपोइन्टमेन्ट मिति अगाडि सारिदिने जस्ता विभिन्न बहानामा सेवाग्राहीलाई ठग्ने बिचौलीयालाई विभाग, सेवाग्राही र नेपाल प्रहरीको सहयोगमा अनुसन्धान तथा कारबाहीका लागि पठाउने गरिएको विभागले बताएको छ ।

‘सामाजिक सञ्जालको भ्रामक सूचना सम्प्रेषित गर्ने व्यक्ति तथा साइबरहरूलाई समेत अनुसन्धान तथा कारबाही गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरोलाई अनुरोध गरिएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।