Logo
१५ मंसीर २०७९, बिहीबार

जहाँ डेढ घण्टा हिँडेर विद्यालय पुग्छन् विद्यार्थी

अक्षरपाटी
२०७९ मंसीर ३ , शनिबार ११:११ मा प्रकाशित

पाल्पा, ३ मङ्सिर। निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्छन। उनी गाउँदेखि करिब डेढ घण्टा टाढा पैदल हिँडेर विद्यालय पुग्छन्।

गाउँमै मावि तहसम्मको विद्यालय नभएपछि डेढ घण्टाभन्दा बढी (एकतर्फी) हिँडेर स्कुल पुग्न उनलाई सहज छैन।

गाउँमै रहेको गोरखनाथ आधारभूत विद्यालयमा कक्षा ८ सम्मको शिक्षा लिएका उनी कक्षा ९ देखि माथिल्लो तहको शिक्षा लिन दैनिक डेढ घण्टा हिँड्छन्।

दैनिक आउजाउ गरेर तीन घण्टा पैदलमै खर्चिनुपर्दा विद्यालय समयबाहेक अन्य समय पढाइमा खर्चन नपाएको विद्यार्थी परियारको गुनासो छ।

“गाउँमा मावि तहसम्म पढ्ने विद्यालय या टाढाको विद्यालयमा जान स्कुल बसको व्यवस्था भए सहज हुन्थ्यो”, उनले भने, “लामो समय हिँडेर विद्यालय पुग्दा थकाइ लाग्छ । पढाइमा धेरै समय दिन सकिँदैन, गाउँमै सहजरूपमा पढ्ने व्यवस्था हुनुप¥यो।”

उनी घरबाट बिहान ८ बजे निस्कने र ४ बजे स्कुल छुट्टी भएर साँझ ६ बजे मात्रै घरमा पुग्छन्। ट्युसन पढ्ने समयमा बिहान ५ बजे नै घरबाट निस्कनुपर्दा जाडोयाममा विद्यालय पुग्न गाउँको बाटो, जङ्गली जनावरको भय र जोखिम मोलेर जानुपरेको उनले सुनाए।

आधारभूत तहको शिक्षा गाउँमै पढ्ने व्यवस्था भए पनि माथिल्लो तहको शिक्षा लिन यहाँका विद्यार्थीलाई अन्यत्र घण्टौं हिँडेर जानुपर्दा निकै समस्या छ।

भिरपानीमा आधारभूत तहसम्म अध्ययन सकाएपछि यहाँका विद्यार्थीलाई माथिल्लो तहको शिक्षा लिन निकै पिरलो पर्छ। यहाँका विद्यार्थी मित्यालको गौरीशंकर मावि र धिर्जेमा रहेको जनप्रिय माविमा दैनिक डेढदेखि दुई घण्टा हिँडेर पढ्न जाने गरेको जनकल्याण आधारभूत विद्यालय खोप्लाकका शिक्षक धनबहादुर ठाडाले बताए।

“भिरपानी र धिर्जे दुई ठाउँमै बसोबास गर्ने परिवारका बालबालिका आधारभूत तह उत्र्तीण पश्चात् तल बेँसीमा झरेर पढ्ने गर्छन्, बेँसीमा बसोबास नहुने बालबालिका गौरीशंकर माविमै अध्ययनका लागि पुग्दछन्”, उनले भने।

भिरपानीकै शर्मिला जर्घा गौरीशंकर माविमै कक्षा १२ मा अध्ययनरत छात्रा हुन। गाउँका करिब एक दर्जन भन्दाबढी विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि डेढ घण्टाभन्दा बढीको बाटो हिँडेर विद्यालय पुग्ने गरेको उनले बताइन्।

आधारभूत तहसम्मको शिक्षा गाउँमै लिएकी उनी कक्षा ९ र १० सम्मको शिक्षा तल बेँसीमा रहेको जनप्रिय माविमा लिएको बताउँछिन्।

“गाउँमा राम्रो पढ्ने विद्यालय नहुँदा हामीले विभिन्न विद्यालयमा धाउनुपरेको छ, किताब कापी बोकेर दैनिक घण्टौँ समय लगाएर विद्यालय गई घर फर्कंदा थकाइले पढाएको कुरा नै झट्ट सम्झन सकिँदैन, हामीलाई गाउँमै बसेर पढ्ने वातावरण सम्बन्धित निकायले मिलाइदिनुप¥यो”, उनले भनिन्।

घरमा कहिलेकाहीँ कामको चटारो हुँदा सहयोग गर्नुपर्ने अवस्थामा टाढा विद्यालय भएकाले कक्षा छाडेर बस्नुपर्ने उनी सुनाउँछिन् कक्षा १२ मा अध्ययनरत अस्मिता सोमै।

विद्यालय टाढा हुँदा सधैँ विद्यालय आउने जाने कुराले नै चिन्तित बनाउने गरेको तिलमाया दर्जीको गुनासो छ।

पढेर ठूलो मान्छे बन्ने सुन्दर सपना बोकेका विद्यार्थी गाउँमै व्यवस्थितरूपमा उच्च शिक्षामा राज्यले लगानी गरिदिए विद्यालय आउनजान लाग्ने समय पढाइमा खर्च गर्न पाउने बताउँछन्।

निस्दी गाउँपालिकाका शिक्षा शाखा प्रमुख नरबहादुर थापाले कक्षा थप गर्ने कुरा उठिरहे पनि ग्रामीण भेगमा विद्यार्थी सङ्ख्या न्यून हुने भएकाले प्रक्रिया अगाडि बढ्न नसकेको बताए।

उनका अनुसार निस्दीभित्रका विद्यालयमा चलेका ९ देखि १२ कक्षासम्म न्यूनतम १८ देखि बढीमा ४० जनासम्म मात्रै विद्यार्थी भर्ना हुने गरेका छन्।

निस्दीकै १ मा रहेको एकमात्र मावि तहको विद्यालय राधाकृष्ण माविमा भोटाहा क्षेत्रका विद्यार्थी करिब डेढ घण्टा, २ को अंशुबर्मा मावि र बालहित माविमा सेरडाँडाका विद्यार्थी करिब ४५ मिनेट, ४ को गौरीशंकर माविमा भिरपानी, लामेदमार, मुढाबास क्षेत्रका विद्यार्थी डेढदेखि दुई घण्टाको दूरी हिँडेर विद्यालय जान बाध्य छन्।

निस्दी गाउँपालिकामा माविस्तरीय १२, आधारभूतस्तरीय १३ र प्राविस्तरीय २८ गरी जम्मा ५३ वटा सामुदायिक विद्यालय छन्।

विद्यार्थी