



कैलाली। धनगढीस्थित निसर्ग हस्पिटलले नेपाली क्रिकेटका उदीयमान खेलाडी लोकेश बमलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।
स्वास्थ्य सेवा र खेलकुदबीचको सकारात्मक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यसहित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले प्रतिभाशाली खेलाडी बमलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो।
आक्रामक ब्याटिङ शैली, अनुशासित खेल र निरन्तर उत्कृष्ट प्रदर्शनले पछिल्लो समय नेपाली क्रिकेट क्षेत्रमा चर्चामा रहेका लोकेश बम युवा पुस्तामाझ लोकप्रिय नाम बनिसकेका छन्।
घरेलु प्रतियोगितादेखि राष्ट्रिय टोलीको छनोट प्रक्रियासम्म प्रभावशाली उपस्थिति देखाइसकेका बमलाई नेपाली क्रिकेटको भविष्यका सम्भावित खेलाडीका रूपमा हेरिने गरेको छ।

निसर्ग हस्पिटलले भने लामो समयदेखि उपचारबाट वञ्चित विपन्न तथा असहाय बिरामीहरूलाई निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।
आर्थिक अभावकै कारण कुनै पनि नागरिक उपचारबाट टाढा हुनु नपरोस भन्ने उद्देश्यका साथ अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सेवाहरुलाई निरन्तरता दिँदै आएको अस्पतालका अध्यक्ष तीर्थराज पन्तले बताए।
स्वास्थ्य सेवामात्र होइन, अस्पतालले गौशाला सहयोग, अनाथ बालबालिकाको शिक्षा तथा आर्थिक सहयोग, साथै स्वास्थ्य र शिक्षासम्बन्धी विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै मानवीय सेवाका क्षेत्रमा समेत सहयोग र सहकार्य गर्दै आएको छ।
अस्पतालका अनुसार लोकेश बमसँगको संहकार्यले विशेषगरी युवामाझ स्वास्थ्य सचेतना फैलाउन, खेलकुद र स्वस्थ जीवनशैलीबीचको सम्बन्धलाई अझ प्रभावकारी रूपमा स्थापित गर्न तथा सामाजिक अभियानलाई राष्ट्रिय स्तरसम्म विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ।
खेलकुदको ऊर्जा र स्वास्थ्य सेवाको मानवीय भावनालाई एउटै अभियानमा जोड्ने निसर्ग हस्पिटलको यो कदमलाई सामाजिक उत्तरदायित्व र प्रेरणादायी सहकार्यको उदाहरणका रूपमा हेरिएको छ।
अस्पतालले आगामी दिनमा पनि मानव सेवा र सामाजिक अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउने अध्यक्ष पन्तले बताए।
निसर्ग हस्पिटल लोकेश बम



