Logo
१५ मंसीर २०७९, बिहीबार

कतार विश्वकप : रोनाल्डोका लागि अन्तिम अवसर

अक्षरपाटी
२०७९ मंसीर ३ , शनिबार ०४:११ मा प्रकाशित

० रोहित गिरी
विश्वको ध्यान यतिबेला कतारतिर तानिएको छ। अझ फुटबलप्रेमीहरुका लागि त यो महाउत्सव नै हो।

यही महाउत्सव भोलिदेखि कतारमा सुरु हुँदैछ। अर्थात २२ औँ विश्वकप । हुन त हरेक राष्ट्र र खेलाडीका समर्थको कमी छैन।

कुनै समय खासै समर्थक नभएको राष्ट्रमा पथ्र्यो पोर्चुगल। तर यतिबेला विश्व फुटबलमा पोर्चुगलका समर्थक धेरै छन्।

१९९८ मा फ्रान्समा आयोजना भएको १६औं विश्वकपसम्मको इतिहास हेर्ने हो भने पोर्चुगल मात्र दुईपटक छनोट भएको थियो।

१९६६ मा इंग्ल्यान्डमा आयोजना भएको विश्वकपमा पहिलोपटक छनोट भएको पोर्चुगल तेस्रो भएको थियो। त्यो नै पोर्चुगलको विश्वकप इतिहासको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो।

१९८६ मा मेक्सिकोमा आयोजना भएको विश्वकपमा पोर्चुगत दोस्रोपटक छनोट भयो। तर, त्यो विशवकप पोर्चुगलका लागि सम्झनलायक रहेन।

समूहचरणमा तीन खेलमा मात्र एक खेल जितेको पोर्चुगल समूह चरणबाटै बाहिरियो। त्यसपछि विश्वकपमा छनोट हुन पोर्चगललाई १६ वर्ष पर्खनुपर्यो।

९० को दशकमा नौलो पुस्ताको आगमनसँगै पोर्चुगलको फुटबलमा सुनौलो सुरुवात भयो। अर्थात आशाजनक मोड लियो। त्यही समयदेखि टोलीले नियमित आधारमा सुधार जारी राख्यो।

अन्ततः पोर्चुगलले २०१६ मा युरोकपको उपाधि जितेर आफ्नो फुटबल इतिहासकै ठूलो उपाधि घर ल्याएको थियो।

१९३० को विश्वकप गुमाएको पोर्चुगल १९३४ को विश्वकप छनोटमा स्पेनसँग ९–० गोलको लज्जास्पद हारसँगै बाहिरियो।

सन् १९३८ को विश्वकप छनोटमा पोर्चुगलले स्विजरल्याण्डको सामना गर्यो। तर, स्विजरल्याण्डसँग २–१ ले पराजित भयो। त्यसपपछि दोस्रो विश्वयुद्धका कारण पोर्चुगलले आफ्नो अर्को मौकाको लागि १२ वर्ष प्रतिक्षा गर्नुपर्यो।

१९३४ देखि विना सफलता पोर्चुगलले विश्वकप छनोटमा सहभागिता जनाउने कार्य जारी राख्यो। तर, धेरैजसो पराजयहरूले निराश भएको पोर्चुगल १९६६ को विश्वकपका लागि छनोट भयो।

पोर्चुगलका कप्तान २४ वर्षे युसिबियो थिए। युसिबियो आफ्नो युगका सबैभन्दा प्रख्यात खेलाडी थिए। सायद पेलेपछि दोस्रो स्थानमा। उनले प्रतियोगितामा पनि आफ्नो क्षमता प्रमाणित गरे र पोर्चुगललाई समूह चरणमा तीन जितसहित अगाडि बढाए ।

क्वाटर फाइनलमा युसिबियोको उत्कृष्ट प्रदर्शनका साथ पोर्चुगलले उत्तर कोरियालाई ५–३ गोलले पराजित गर्यो। जहाँ युसिबियोले ह्याट्रिक सहित चार गोल गरेका थिए।

त्यसपछि सेमिफाइनलमा इङ्ल्यान्डसँग २–१ ले पराजित हुन पुग्यो। तेस्रो स्थानका लागि भएको खेलमा सोभित युनियनलाई पराजित गर्दै पहिलो विश्वकपमा नै पोर्चुगल तेस्रो बनेको थियो।

फेरि पोर्चुगल विश्वकपमा छनोटका लागि संघर्ष गर्नमै सिमित रह्यो। सन् १९६८ देखि १९८२ सम्म आयोजित विश्वकप र युरोपियन च्याम्पियनशिपका लागि छनोट हुन सकेन।

२० वर्ष र चार असफल प्रयासपछि पोर्चुगल १९८६ को विश्वकपमा छनोट भयो। तर, नतिजा निरासा जनक आयो। समूह चरणबाटै बाहिरिन पुग्यो।

९० को दशक पनि पोर्चुगलका लागि सुखद रहेन्। तीन विश्वकपमा स्वाद चाख्नै पाएनन्। २००२ को विश्वकपमा समूह चरणबाट बाहिरिएको पोर्चुगल २००६ को विश्वकपमा सेमिफाइनल पुग्यो।

तर, सेमिफाइनलमा पोर्चुगल फ्रान्ससँग १–० गोलले पराजित भयो। तेस्रो स्थानका लागि भएको खेलमा जर्मनीसँग ३–१ ले पराजित हुँदा पोर्चुगल समग्रहमा चौथो स्थानमा रह्यो।

यसै समय युवा सुपरस्टार क्रिस्टियानो रोनाल्डोको उदय भयो। रोनाल्डो सन् २००६ को विश्वकप टोलीमा थिए तर उनले अवसर पाएनन्। रोनाल्डोको आगमनपछि पोर्चुगललाई प्रायः प्रतियोगितामा अन्डरडग टिममा रुपमा लिन थालियो।

२०१० को विश्वकपमा शीर्ष १६ मा स्पेनसँग पराजित हुँदै बाहिरियो। चार वर्षपछि ब्राजिलमा भएको विश्वकपमा जर्मनी, अमेरिका र घानाबाट पोर्चुगल अगाडि बढ्न सकेनन्। यस अवधिमा पोर्चुगलको राम्रो प्रदर्शन युरो २०१२ मा थियो। जहाँ पोर्चुगल युरोको सेमिफानसम्म पुगेको थियो।

तर सेमिफाइनमा स्पेनसँग पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित भयो।

पोर्चुगल यूरो २०१६ मा समूहका सुरुवाती तीन खेल बराबरी खेलेपछि पोर्चुगल समूहको उत्कृष्ट तीनमा पर्दै नकआउटमा प्रवेश गरेको थियो।

अन्तिम १६ मा अतिरिक्त समयमा क्रोएसियालाई हराउँदै पोर्चुगल क्वाटरफाइनल पुग्यो।

सेमीफाइनलमा वेल्सलाई २–० ले हराउँदै पोर्चुगलले प्रतियोगितामा सर्वश्रेष्ठ खेल पस्कियो। फ्रान्सविरूद्धको फाइनल खेल अर्को नाटकीय थियो।

तर, पोर्चुगल अतिरिक्त समयमा विजयी भयो । त्यो नै पोर्चुगल र रोनाल्डोका लागि ऐतिहासिक सफलता थियो।

ऐतिहासिक सफलतापछि पोर्चुगल २०१८ को विश्वकपको लागि छनोट भयो। स्पेनविरूद्ध उनीहरूको सुरुआत प्रतियोगितामा उत्कृष्ट खेल साबित भयो।

रोनाल्डोले ह्याट्रिक गरेपछि खेल ३–३ को बराबरीमा सकिएको थियो। उनीहरूको समूहबाट संघर्ष गर्दै नकाउटमा प्रवेश गरेको पोर्चुगल अन्तिम १६ मा उरुग्वेसँग २–१ ले पराजित हुँदै बाहिरिन पुग्यो।

यतिबेला पोर्चुगत कतार विश्वकप २०२२ को तयारीमा छ। पोर्चुगलले रोनाल्डोको कप्तानीमा आफ्नो टोलीको घोषणा समेत गरिसकेको छ।

पछिल्लो पुस्तामा सुपर स्टार खेलाडीको छवि बनाएका रोनाल्डोका लागि यो विश्वकप अन्तिम अवसर पनि हो। जहाँ आफ्नो खेल जीवन र राष्ट्रका लागि विश्वकपको पहिलो उपाधि जित्ने मौका पनि छ।

यसपटकको विश्वकपमा पोर्चुगलसँगै समूह एचमा घाना, उरुग्वे र दक्षिण कोरिया रहेका छन्। पोर्चुगलले आफ्नो पहिलो खेल घानासँग खेल्दै कतार विश्वकपको सुरुवात गर्नेछ।

 

रोनाल्डो विश्वकप