Logo
१५ चैत्र २०८०, बिहीबार

ढुक्क भएर मतदान गर्न सरकारको अपिल

अक्षरपाटी
२०७९ मंसीर ३ , शनिबार ०९:११ मा प्रकाशित

काठमाडौं ३ मंसिर। सरकारले चुस्त सुरक्षा प्रबन्ध भएकाले आइतबारको निर्वाचनमा ढुक्कका साथ मतदान गर्न आम मतदातालाई आह्वान गरेको छ। गृह

मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले यसपटकको निर्वाचनमा ३ लाख हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।

उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा कुनै शंका नगर्न आग्रह गरे।। त्यसमा एक लाख १५ हजार म्यादी प्रहरी मात्रै छन्।

मतदान केन्द्रको संवेदनशीलताका आधारमा तीन घेरामा सुरक्षाकर्मी खटिएका छन्।

पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेनाले सुरक्षा पहरा दिएको छ।

‘निर्वाचनको सबै सुरक्षा तयारी पूरा भएको छ, चारै सुरक्षा निकाय आफ्नो जिम्मेवारीअनुसार खटिएका छन्’, सिंहले भने, ‘ढुक्क भएर मतदान गर्ने अवस्था छ, सबै मतदातालाई आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म अनुकूल समयमा आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आह्वान गर्दछु।’

शान्तिसुरक्षा चुनौती नगन्य रहेको बताउँदै केही ठाउँमा नक्कली वस्तु राखेर तर्साउने गतिविधि देखिए पनि त्यस्ता गतिविधि नियन्त्रणमा सुरक्षाकर्मी सक्षम रहेको पनि बताए।

सुरक्षाकर्मीसमेत उच्च मनोबलका साथ परिचालित रहेका उनले जानकारी दिए।

कतिपय क्षेत्रका भौगोलिक परिस्थिति र प्रतिकूल मौसमको अवस्थाका बीच अदम्य साहसका साथ खटिएर निर्वाचनको सुरक्षामा कुनै कमी हुन नदिएकामा सुरक्षाकर्मीलाई उनले धन्यवाद व्यक्त गरे।

उनले धाँधलीरहित निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय कटिबद्ध रहेको बताए।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले मुलुकका ७७ वटै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिसुरक्षा सामान्य रहेको जानकारी गराए।

उनले मतदातालाई भने,’मतदानमा ढुक्कले सहभागी हुनुहोस्, तपाईंहरुको सुरक्षाको जिम्मा हाम्रो भयो।’

आम निर्वाचन गृह मन्त्रालय