Logo
७ वैशाख २०८१, शुक्रबार

निर्वाचनपछि गठबन्धन सरकार : अध्यक्ष दाहाल

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ०९:११ मा प्रकाशित

काठमाडौं ४ मंसिर। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दबी गरेका छन् ।

भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेपछि दाहालले संविधान, सुशासन र समृद्धिमाथि खतरा रहेसम्म गठबन्धन कायमै रहने दाबी गरेका हुन् ।

“देशव्यापी रुपमा गठबन्धनको पक्षमा माहोल बनेको छ । मलाई विश्वास छ, गठबन्धनले सजिलै बहुमत ल्याउँछ । गठबन्धनकै सरकार बन्छ”, उनले भने । निर्वाचनपछि बन्ने सरकारको नेतृत्वको विषयलाई वर्तमान गठबन्धन नटुट्ने उनको विश्वास छ ।

“गठबन्धनभित्र प्रधानमन्त्रीको टुङ्गो त लगाएका छैनौँ । गठबन्धनमा सल्लाह गरेर टुङ्गो लगाउँछौँ”, उनले भने । “प्रधानमन्त्री पदका कारण वर्तमान गठबन्धन टुट्दैन । जबसम्म संविधानमाथि, सुशासन र समृद्धिको यात्रामा खतरा पैदा रहन्छ तबसम्म गठबन्धन रहन्छ ।”

निर्वाचनले देशमा विकास र समृद्धिको नयाँ प्रक्रिया थालनी गर्ने विश्वास उनको छ । सुशासन र समृद्धिका लागि परिवर्तनको वाहक दलको नेतृत्व भएमात्र मुलुकमा समृद्धि सम्भव हुने उनले दाबी गरे । संविधान जारी भएपछिको दोस्रो निर्वाचनका रुपमा यो ऐतिहासिक महत्वको निर्वाचन भएको उनको भनाइ छ ।

“कुन पार्टीले कति मत ल्यायो भन्नेभन्दा पनि ठूलो कूरा निर्वाचन सफलतापूर्वक सम्पन्न भयो भन्ने हो”, अध्यक्ष दाहालले भने, “लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण हुन्छ । निर्वाचन सम्पन्न हुनु भनेको संविधानले यसका प्रणालीले ठीक ढङ्गले काम गर्दैछ भन्ने प्रमाण हो ।”