Logo
१६ चैत्र २०८०, शुक्रबार

बाजुरामा गोली लागेर एक जनाको मृत्यु, तीन घाइते

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ०६:११ मा प्रकाशित

बाजुरा ४ मंसीर। बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु भएको छ। घटनामा तीनजना गम्भीर घाइते भएका छन्।

बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो।

उनका अनुसार सुरक्षाकर्मीको गोली लागेर स्थानीय परशुराम पाध्याय, खड्क ऐडी र प्रेम थापा गम्भीर घाइते भएका छन्।

बाजुरा सदरमुकाम मार्तडीस्थित बडिमालिका–९ कालिका मावि मतदानस्थलमा समेत प्रहरीले हवाई फायर गरेको थियो।

सो ठाउँमा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको थियो।

त्यसैगरी बाजुराको बूढीनन्दा नगरपालिका, बूढीगंगा नगरपालिकालगायतका केही पालिकामा विवाद भएपछि मतदानसमेत स्थगन भएको छ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बाजुरामा मतदान स्थगन तथा त्रिवेणी नगरपालिकामा भएको घटनासम्बन्धमा जानकारी लिने कार्य भइरहेको बताए।

बाजुरा