Logo
१४ वैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस पहिलो दल

अक्षरपाटी
२०७९ मंसीर १० , शनिबार ०३:११ मा प्रकाशित

सुदूरपश्चिम, १० मङ्सिर । मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र प्रदेशसभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ ।

प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ । मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुराको एक केन्द्रमा आज मतदान भइरहेको छ ।

सुदूरपश्चिमको डडेलधुराबाट प्रतिनिधित्व गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाल सरकारका दुई मन्त्री प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल रहे । विसं २०४८ यता भएका निर्वाचनमा देउवा निरन्तर विजयी हुँदै आएका छन् ।

दार्चुलाबाट प्रतिनिधित्व गर्नुहुने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू विजयी भए । उनले एमालेका नेता गणेशसिंह ठगुन्नालाई पराजित गरे । बडू यसअघि विसं २०७४ मा भएको निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

यसैगरी श्रम तथा रोजगारमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर अछाम–१ बाट निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका झपटबहादुर बोहरा रहे । नेकपा एमाले र तत्कालीन नेकपामा आएको विभाजनसँगै उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसबाट डडेलधुरामा प्रधानमन्त्री देउवा, कञ्चनपुर ३ बाट रमेश लेखक, कञ्चनपुर २ बाट एनपी साउँद, कैलाली ४ बाट वीरबहादुर बलायर, कैलाली ५ बाट डिल्लीराज पन्त, दार्चुलाबाट उद्योगमन्त्रीसमेत रहेका बडू र अछाम २ बाट पुष्पबहादुर शाहसहित सात जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट अछाम १ मा श्रममन्त्रीसमेत रहेका कुँवर, बझाङमा भानुभक्त जोशी र डोटीबाट प्रेमबहादुर आलेमगर निर्वाचित भए । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ मा रञ्जिता श्रेष्ठ चौधरी, क्षेत्र २ मा अरुण चौधरी र क्षेत्र ३ मा गङ्गाराम चौधरी प्रतिनिधिसभामा निर्वाचित भए।

टीकापुरको हिंसात्मक घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नी रञ्जिता नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष हुन् । नेकपा ९माओवादी केन्द्र०बाट उम्मेदवार रहनुभएका बैतडीका नरेन्द्र कुँवर ९विजयसुन्दर० कञ्चनपुर १ का बीना मगर, कैलाली २ का भगत बडुवाल र ३ का कृष्णकुमार चौधरीले प्रतिनिधिसभा सदस्यमा पराजय व्यहोरे । प्रतिनिधिसभा सदस्यमा सुदूरपश्चिमबाट नेकपा माओवादी केन्द्र शून्य रह्यो।

नेकपा एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारी बैतडीबाट र तारालामा तामाङ कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित भए । तामाङ पार्टी विभाजनका बेला एमालेबाट नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेर निर्वाचनअघि पुनःएमालेमै फर्किएका थिए ।
एमालेका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट कैलाली ४ मा कांग्रेस नेता वीरबहादुर बलायरसँग पराजित भए । प्रदेश सरकारका बहालवाला दुई मन्त्रीले पराजय हुँदा दुई मन्त्री भने विजयी भएक छन्।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावल कैलाली क्षेत्र १ को प्रदेशसभा २ बाट पराजित भएका हुन् । उनी नागरिक उन्मुक्ति पार्टीका प्रत्यासीसँग पराजित भए । डा रावल पाँच वर्ष अघि प्रत्यक्षतर्फको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए।

प्रदेशका सामाजिक विकासमन्त्री एवं कांग्रेस नेता गोविन्दराज बोहरा डडेलधुरा २ को प्रदेशसभा सदस्यमा पराजित भए । उनी स्वतन्त्र उम्मेदवार डा तारा जोशीसँग पराजित भएका हुन् । बोहरा पाँच वर्षअघिको निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं नेकपा माओवादी केन्द्रंका नेता मानबहादुर धामी दार्चुलाको प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका हरदेव जोशी रहे ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी कैलाली ४ बाट र सोही पार्टीका नेता एवं आर्थिक मामिलामन्त्री प्रकाश रावल कञ्चनपुर ३ बाट प्रदेशसभामा निर्वाचित भए । दोस्रो पटक प्रदेशसभामा निर्वाचित सोडारी र रावलले क्रमशःएमालेका भीमबहादुर देउवा र माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टलाई पराजित गरे।

प्रदेशसभाका निवर्तमान सदस्य, नेकपा एकीकृत समाजवादीका नेता अमरबहादुर साउद कैलालीबाट र लालबहादुर खड्का कञ्चनपुरबाट प्रदेशसभा सदस्यमा पराजित भए । नेकपा माओवादी केन्द्रका नेता अक्कलबहादुर रावल अछामको प्रदेशसभाबाट दोस्रो पटक निर्वाचित हुँदा सोही पार्टीका नन्दबहादुर साउद भने कैलालीको प्रदेशसभा सदस्यमा पराजित हुन पुगे। प्रदेशसभाका निवर्तमान सदस्य एवं एमालेका नेताद्वय पठानसिंह बोहरा डडेलधुरा र लीलाधर भट्ट बैतडीको प्रदेशसभा सदस्यबाट पराजित भए।

निर्वाचनअघि एमालेबाट नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर प्रदेशसभा सदस्यको टिकट पाएका प्रदेशसभाका निवर्तमान सदस्य रतनबहादुर थापा कैलालीबाट पराजित भए । यस्तै प्रदेशसभाका निवर्तमान सदस्य तराई–मधेस लोकतान्त्रिक पार्टीका कृष्णबहादुर चौधरी कैलाली १ को प्रदेशसभा सदस्यमा पराजित भए।

सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट कैलालीका प्रकाशबहादुर देउवा, प्रकाश बम र कमलबहादुर शाह, कञ्चनपुरबाट दिवानसिंह विष्ट, बहादुरसिंह थापा र बेलबहादुर रानामगर, अछामबाट मेघराज खड्का र मानबहादुर रावल, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट विक्रमसिंह धामीसहित ११ जना निर्वाचित भए।

यस्तै प्रदेशसभा सदस्यमा निर्वाचित हुनेमा नेकपा माओवादी केन्द्रबाट रमेश धामी, कैलाली, खगराज भट्ट, डडेलधुरा, शिवसिंह ओली, डोटी, ओमविक्रम भाट, कञ्चनपुर, भीम भण्डारी बझाङ, मानबहादुर धामी, दार्चुला र अछामबाट अक्कलबहादुर रावल र झपटबहादुर साउदसहित आठ जना रहे।

नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा कैलालीबाट रामेश्वर चौधरी, कैलाश चौधरी, लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी र खुशीराम चौधरीसहित पाँच जना र नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी, प्रकाश रावलसहित दुई जना निर्वाचित भए।

यस्तै नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित हुने तीन जनामा वीरबहादुर थापा कञ्चनपुर, सुरेन्द्र पाल बैतडी र चक्र मल्ल डोटी हुन्। डडेलधुराबाट स्वतन्त्र उम्मेदवार डा तारा जोशी पनि प्रदेशसभामा विजयी भएका छन् । प्रदेशसभामा ५३ सदस्य रहेका छन् । प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ।