Logo
१४ वैशाख २०८१, शुक्रबार

फुटबल महाकुम्भः स्पेन र जर्मनीको खेल बराबरी, क्रोएसियाद्वारा क्यानडा पराजित

अक्षरपाटी
२०७९ मंसीर १२ , सोमबार ११:११ मा प्रकाशित

काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाडेका छन्।

अल बेयत रंगशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए।

यसपछि खेलको ८३ औँ मिनेटमा जर्मनीका निकलस फूलक्रुगले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

यस बराबरीसँगै समूह ‘ई’ बाट दुबै टोलीको नकआउट सम्भावना कायम रहेको छ। स्पेनले दुई खेलमा चार अंक जोडेको छ भने जर्मनी दुई खेलमा एक अंक जोडेर पुछारमा छ।

यस्तै अर्को खेलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो।

क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे भने मार्को लिभाजा र लेभ्रो माजेरले समान एक एक गोल थपे गरे।

यसैगरी क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए। खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो।

खेलको दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए तर, खेलको ३६ औँ मिनेटमा क्रोएसियाका क्रमारिचले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

यसपछि खेलको ४४ औँ मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए।

खेलको ७० औँ मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३– १ को अग्रता दिलाए।

यसपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४–१ को जित दिलाए।

यस जितसँगै समूह ‘एफ’ को क्रोएसियाले दुई खेलमा चार अंक जोडेको छ। क्यानडाको यो लगातार दोस्रो हार हो र क्यानडा प्रतियोगिताबाट बाहिरिएको छ।

fifa worldcup 2022