Logo
१३ माघ २०७९, शुक्रबार

नेपालको खेतीयोग्य जमिनको ५० प्रतिशत माटो अयोग्य

अक्षरपाटी
२०७९ मंसीर १६ , शुक्रबार ०६:१२ मा प्रकाशित

काठमाडौं १६ मङ्सिर। नेपालको खेतीयोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लिय प्रकृतिको पाइएको छ।

‘डिजिटल सोइल म्याप’को पछिल्लो तथ्यांकअनुसार नेपालको खेतियोग्य जमिनको ५०–५५ प्रतिशत माटो अम्लिय प्रकृतिको, ४–५ प्रतिशत क्षारिय र ४०–४५ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको पाइएको छ। धेरैजसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने गर्दछ।

कृषि विभागका अनुसार देशका विभिन्न भागबाट लिइएको माटोको नमूना परीक्षणको तथ्यांक विश्लेषण गर्दा ४०–४५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून पाइएको छ।

४१ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा अधिक रहेको पाइएको छ। प्रांगारिक पदार्थलाई माटोको आधारको रूपमा पनि लिइन्छ।

उत्पादनशील माटोमा प्रांगारिक पदार्थको मात्रा तीनदेखि पाँच प्रतिशत हुनु आवश्यक हुन्छ।

कृषि विकास रणनीतिले नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा एक दशमलव ९६ प्रतिशतबाट चार प्रतिशतमा पु¥याउने लक्ष्य लिएको छ ।

यसैगरी नेपालमा खेती गरिने जमिनको ५६ प्रतिशतमा नाईट्रोजनको मात्रा न्यून, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको पाइएको विभागका महानिर्देशक डा रेवतीरमण पौडेलले जानकारी दिए।

फस्फोरस तत्व तुलनात्मक रूपमा राम्रो पाइएको छ जसमा ४२ प्रतिशतमा न्यून, २८ प्रतिशतमा मध्यम र ३१ प्रतिशतमा अधिक रहेको छ।

पोटास तत्वको मात्रा तीव्र गतिमा घटिरहेको छ। जसमा ५० प्रतिशतमा न्यून, २६ प्रतिशतमा मध्यम र २४ प्रतिशतमा अधिक पाइएको उनले बताए।

गोबर वा कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग न्यून हुनु, रासायनिक मलको असन्तुलित प्रयोग हुनुको साथै विषादीको प्रयोग बढ्दै जानु, बालीचक्रको आधारमा खेती नगरिनु र बालीचक्रमा कोशेबालीको प्रयोग घट्दै जानु, अवैज्ञानिक तरिकाबाट सघन खेती गरिनु, बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनबाट पूर्ण रूपमा हटाइनु वा जलाइनु, भू–क्षय निरन्तर भइरहनु, औद्योगिक प्रदूषणको मात्रा बढनु, कृषि औजारको अधिकतम् प्रयोगले माटो कडा बन्दै जानुलगायत कारणले माटोको स्वास्थ्य बिग्रिँदै गएको हो।

जनचेतना जगाउन माटो दिवस
स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्बराशक्तिको दीगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाइन्छ।

सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो।

नेपालले विसं २०७२ देखि विश्व माटो दिवस मनाउँदै आएको छ। यसै सन्दर्भमा नेपालमा पनि यही १९ मङ्सिर ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ नाराको भावलाई सार्थक पार्न नवौँ विश्व माटो दिवस मनाउन लागिएको छ।

हाल नेपाललगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्बराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्दो छ।

यो वर्षको विश्व माटो दिवस राष्ट्रियस्तरमा मनाउन कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र (नार्क), खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेप्लिज सोसाइटी अफ स्वाइल साइन्सको समन्वयमा विभिन्न कार्यक्रम तय गरिएको छ।

दिवसका अवसरमा विभागले यही मंसिर १३ गते माटोसम्बन्धी विविध विषय समेटिने गरी विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ।

यसैगरी आज शुक्रबार केन्द्रीय कृषि प्रयोगशालाले धादिङमा माटो परीक्षण शिविर सञ्चालन गर्ने, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, खुमलटारले माटोको महत्वसम्बन्धी गोष्ठी गर्ने, मङ्सिर १९ गते आम जनमानसमा जनचेतना जगाउन प्रभातफेरीलगायत कार्यक्रमको आयोजना गरिने विभागले जनाएको छ।

खेती माटो