Logo
२० वैशाख २०८१, बिहीबार

वाचा बिर्सनेलाई पाखा, मधेस प्रदेशमै हारे १८ पूर्वमन्त्री

अक्षरपाटी
२०७९ मंसीर १७ , शनिबार १२:१२ मा प्रकाशित

जनकपुरधाम १७ मंसिर। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन्।

कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजित भएका छन् भने कतिपयलाई अघिल्ला प्रतिस्पर्धीले हराएका छन्। सबैभन्दा बढी धनुषामा मात्रै ६ जना पूर्वमन्त्री पराजित भएका छन्।

धनुषाको १ मा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव अघिल्ला प्रतिस्पर्धी जनता समाजवादी पार्टीका नेता दीपक कार्कीसँग पराजित भए।

०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट यादव २६ हजार चार सय १८ मत प्राप्त गरी विजयी हुँदा कार्कीले १७ हजार दुई सय ९६ मत प्राप्त गरेका थिए।

यादव गत ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

यस्तै धनुषा २ मा तीन जना पूर्वमन्त्रीमध्ये पूर्वमन्त्री तथा कांग्रेस नेता रामकृष्ण यादव निर्वाचित भए भने पूर्वमन्त्री उमाशंकर अरगरिया र रामचन्द्र झा पराजित भए।

०७४ सालको निर्वाचनमा अरगरिया निर्वाचन हुँदा झा र यादव पराजित भएका थिए।

धनुषा ३ मा पूर्वमन्त्री तथा लोसपा नेता अनिलकुमार झा पराजित भए।
पूर्वमन्त्री तथा एमाले नेत्री जुलीकुमारी महतोसँग झा पराजित भएका हुन्।

धनुषा ४ मा पूर्वमन्त्री तथा एमालेका सचिव रघुवीर महासेठ दोस्रो पटक विजयी हुँदा पूर्वमन्त्री तथा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव पराजित भए।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार महासेठले यादवलाई एक सय ४२ मतान्तरले पराजित गरे।

महासेठले ३२ हजार दुई सय ३६ मत ल्याएर निर्वाचित हुदाँ यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरे।

सोही क्षेत्रको प्रदेशसभामा चुनाव लडेका पूर्वराज्यमन्त्री तथा एकीकृत समाजवादी पार्टीका नेता सत्रुधनप्रसाद महतो पनि एमालेका नेता हरिनारायण महतोसँग पराजित भए।

धनुषामा ६ जना पूर्वमन्त्री पराजित हुँदा छिमेकी जिल्ला सिरहामा पनि चार जना पूर्वमन्त्रीलाई पराजय बेहोर्नुपर्यो।

सिरहा १ मा पूर्वमन्त्री तथा कांग्रेस नेता पदमनारायण चौधरी एमालेका रामशंकर यादवसँग पराजित भए।

सिरहा २ मा पूर्वमन्त्री तथा कांग्रेस नेत्री चित्रलेखा यादव पराजित भइन्। उनलाई पूर्वमन्त्री तथा जसपाका नेता राजकिशोर यादवले एक हजार एक सय ५० मतान्तरले पराजित गरे।

सिरहा ३ मा चुनावी मैदानमा उत्रिएका पूर्वमन्त्री तथा एमाले नेता लिलानाथ श्रेष्ठ निर्वाचित हुँदा अर्का पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता विश्वनाथ साह पराजित भए।

सिरहा ४ मा पूर्वमन्त्री धर्मनाथ साह पनि फराकिलो मतान्तरले पाराजित भए। सो क्षेत्रमा जसपाबाट डा वीरेन्द्रप्रसाद महतो २३ हजार एक सय दुई मत ल्याएर विजयी भए।

उम्मेदवारी दर्तादेखि मतगणनासम्म सर्वाधिक चासोको रुपमा रहेको सप्तरी २ मा पूर्वउपप्रधानमन्त्री तथा जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग फराकिलो मतान्तरले पराजित भए। उनको हार राष्ट्रिय राजनीतिमा चर्चाको विषय बन्यो।

जनमत अध्यक्ष डा राउतले ३५ हजार ४२ मत प्राप्त गरी विजयी हुँदा जसपा अध्यक्ष यादवले १६ हजार नौ सय ७९ मत मात्रै पाए।

सो क्षेत्रको प्रदेशसभा क्षेत्र नम्बर २ (ख) मा चुनाव लडेका पूर्वमन्त्री तथा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेशकुमार यादव आफ्नै पूर्वसहकर्मीबाट पराजित भए।

उम्मेदवारी मनोनयनपत्र दर्ताको पूर्वसन्ध्यामा माओवादी केन्द्र छाडेर जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराएका महेशप्रसाद यादवले पूर्वमन्त्री यादवलाई पराजित गरे।

०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भई मन्त्रीसमेत भइसकेका हेमराज तातेडले यस पटकको प्रदेशसभा सदस्य निर्वाचनमा भने आफ्नो जमानतसमेत जोगाउन सकेनन्।

कांग्रेसले टिकट नदिएपछि सप्तरी १ (१) मा स्वतन्त्र उम्मेदवारी दिएका तातेडले जम्मा नौ सय ९२ मत मात्र प्राप्त गरे। सो क्षेत्रबाट एमालेका राजकुमार लेखी विजयी भए।

महोत्तरीमा पनि दुई जना पूर्वमन्त्री पराजित भए। महोत्तरी १ मा पटकपटक मन्त्री भइसकेका माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल एक हजार ३० मतान्तरले अघिल्लो प्रतिस्पर्धीबाटै पराजित भए।

एमालेका लक्ष्मी महतो कोइरी २३ हजार चार सय दुई मत ल्याएर विजयी हुँदा पूर्वमन्त्री पोखरेलले २२ हजार तीन सय २ मत प्राप्त गरे।

०७० र ०७४ सालको निर्वाचनमा पोखरेल सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव पनि पराजित भए। कांग्रेस नेता महेन्द्र राय महोत्तरी ४ बाट निर्वाचित हुँदा पूर्वराज्यमन्त्री यादव चार हजार एक सय २४ मतान्तरले पराजित भए।

०७४ सालको निर्वाचनमा यादवले रायलाई पाँच हजार मतान्तरले पराजित गरेका थिए।

०७४ सालको निर्वाचनमा निर्वाचित भएको धनुषा ३ छाडेर सर्लाही क्षेत्र नम्बर २ बाट चुनाव लडेका पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पनि पराजय भोगे।

माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा महतो दुई हजार ११ मतान्तरले पराजित भए।

यसअघि ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि तत्कालिन सर्लाही ५ मा महतो महेन्द्र राय यादवसँगै पराजित भएका थिए।

०७४ सालको निर्वाचनमा धनुषा ३ मा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेर महतो सांसद बनेका थिए।

वर्तमान सरकारको खानेपानीमन्त्री तथा कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी बारा १ मा पराजित भए। त्यहाँ एमालेका अच्युतप्रसाद मैनाली ३९ हजार एक सय ९५ मत ल्याएर विजयी भए।

पूर्वमन्त्री तथा एमाले नेता एकबाल मियाँ बारा ४ मा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठसँग पराजित भए।

यस्तै पूर्वमन्त्री तथा कांग्रेस नेता सुरेन्द्रप्रसाद चौधरी पर्सा ३ मा एमालेका राजकुमार गुप्तासँग पराजित भए

वाचा बिर्सनेलाई पाखा

चुनाव जितेर गएपछि नेताहरु जनतासँग गरेको वाचा बिर्सिने, नाताबाद, कृपावादमा रमाउने, विकास निर्माणमा ध्यान नदिने र सत्ता लिप्सामा लाग्ने गरेकाले सत्ता भोग गरिसकेका नेतालाई यसपटकको निर्वाचनमा मतदाताले पाखा लगाएको स्थानीय बुद्धिजीवीको भनाइ छ।

“चुनावका बेला मतदातालाई लोभ्याउन ठूला ठूला नारा दिने तर निर्वाचित भएपछि नेता बिर्सिने गरेका छन्”, राजविराज नगरपालिकाका स्थानीयवासी विजयानन्द झाले भने, “त्यसैको परिणाम स्वरुप अहिले ठूला ठूला नेताहरूलाई मतदाताले अस्वीकार गरेको देखिन्छ।”

अब पनि नेताहरू नसुध्रिए उनीहरूका लागि आगामी चुनावमा झन असहज हुने उनको कथन छ।

यता यसरी चुनाव हारेका अधिकांश पूर्वमन्त्रीले पार्टी र गठबन्धनभित्रको घात अन्तरघातका कारण पराजय भएको नारा लगाइरहेका छन्।

मधेस प्रदेश