Logo
११ वैशाख २०८१, मंगलबार

मायाको हत्या आरोपी सशस्त्रका जवान कञ्चनपुरबाट पक्राउ

अक्षरपाटी
२०७९ मंसीर १८ , आईतबार १२:१२ मा प्रकाशित

धनगढी । बैतडीमा घाँटी रेटेर हत्या गरिएकी २१ वर्षीया माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बैतडीकै शिवनाथ गाउँपालिका–४ का उनी महेन्द्रनगरबाट पक्राउ परेका हुन्।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ परेको बताए। आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको र अब बैतडी प्रहरीलाई बुझाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।

गत मंगलबार घरबाट लुगा सिलाउन भनी कुलाउ गएकी पञ्चेश्वर गाउँपालिका–४ की माया बुधबार शिवनाथ–६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी थिइन्। उनीसँगै गएकी नेहा लुहार पनि घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते भएको अवस्थामा फेला परेकी थिइन्।

मृतकका आफन्तले सशस्त्र प्रहरी जवान कोलीको नाममा किटानी जाहेरी दिएका थिए। फरार रहेका उनको प्रहरीले खोजी गरिरहेको थियो। २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए।