Logo
१३ वैशाख २०८१, बिहीबार

काभ्रेमा रेबिज : प्रभावित क्षेत्रमा खोप

अक्षरपाटी
२०७९ मंसीर २० , मंगलबार ०९:१२ मा प्रकाशित

काभ्रे। काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको छ।

कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण केही दिनअघि दुई गाउँमा दुई गाई मरेका थिए।

महाभारत १ को गोकुले र ८ नं वडास्थित घर्तीछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिन थालिएको जनाइएको छ।

सोमबार साँझसम्म १९ स्थानीयलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईँले जानकारी दिए।

उनका अनुसार उक्त रेबिज प्रभावित क्षेत्रमा एक सय ६० डोज खोप उपलब्ध गराइएको छ।

उनका अनुसार मरेका दुई गाईका केही अंगहरू गाडिएको स्थानबाट निकालेर परीक्षण गर्दा शनिबार रेबिज रोगबाट गाई मरेको पुष्टि भएको हो।

“हामी रोकथामका लागि थप अनुसन्धान गरिरहेका छौँ, स्थानीय स्वास्थ्यकर्मीमार्फत खोप लगाउन स्थानीयलाई पे्ररित गरिरहेका छौँ”, सेढाईँले भने।

स्थानीयका अनुसार मासु खाएका कारण दुई गाउँका करिब ६० जना ‘ट्रेसिङ’मा परेको बताइन्छ।

सोमबारदेखि स्थानीय जनप्रतिनिधि, अगुवालगायत विद्यार्थीले चेतनामूलक ¥यालीको आयोजना गरेका छन्।

साथै गाउँपालिकामा देखिएको रेबिज रोगप्रति जिल्ला स्वास्थ्य कार्यालय र जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आवश्यक अनुसन्धान तथा पशुचौपायालाई सुरक्षित गर्नेबारे समन्वय भइरहेको जनाएका छन्। काभ्रेपलाञ्चोकमा तीन महिनापछि महाभारतमा रेबिज रोग फेलापरेको हो।

यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो।

कार्यालयले त्यतिबेला दुई सय ८९ जनालाई रेबिजविरुद्ध खोप लगाएको थियो। स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएपछि तथा अन्य शंकास्पद व्यक्तिलाई खोप लगाउनुपरेको सेढाईँले बताए।

घटनाक्रमले काभ्रेमा रेबिज रोगको सङ्क्रमण केही वर्ष नै रहिरहने जनाइएको छ। शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट विसं २०७७ चैतयता रेबिज रोगका कारण जिल्लाका ६ जनाको मृत्यु भएको छ।

दुई वर्षअघिदेखि रेबिजबाट मानिसको मृत्यु भएपछि स्वास्थ्य कार्यालय र केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ।

रेबिज