Logo
१६ चैत्र २०८०, शुक्रबार

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

अक्षरपाटी
२०७९ मंसीर २८ , बुधबार ०३:१२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको रिटमा रवि लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ ।

रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।

चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले आफूखुशी अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्बाचन आयोगले संबिधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दावी गरिएको छ ।

‘नेपाली नागरिक नभएको व्यक्तिले राजनैतिक दलको सदस्य र पदाधिकारी हुन, निर्बाचनमा उम्मेदवार हुन, प्रतिनिधि सभा सदस्य हुन नपाउने कानूनी व्यवस्था बिपरीत काम कार्यबाही गर्न मिल्छ कि मिल्दैन भन्ने गम्भीर सार्बजनिक सरोकारको सवाल उपस्थित भएको हुँदा सो बिषयको व्याख्या र निरुपणका लागि यो रिट निवेदन लिएर सम्मानित अदालत समक्ष प्रवेश गरेको छु’ रिटमा भनिएको छ ।

रिटमा लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरी सांसद पदबाट मुक्त गर्न निर्वाचन आयोगको नाममा परमादेशको आदेश माग गरिएको छ ।