Logo
७ वैशाख २०८१, शुक्रबार

गजल : यो ठाउँ सहर हुनसक्छ

अक्षरपाटी
२०७९ पुस ३ , आईतबार ०९:१२ मा प्रकाशित

धर्मानन्द भट्ट

तिमीले अमृत सम्झिएको जहर हुनसक्छ
कसैलाई जहर पनि पिउने रहर हुनसक्छ

आमा भन्नुहुन्छ दुब्लाएर गइस बाबू के भो?
आमा म दुब्लाउने कारण नजर हुनसक्छ।

कौसीमा गुलाफ ताकेर हान्ने गर्छौ जहिल्यै,
ख्याल राख सिकार तिम्रो अधर हुनसक्छ।

फूलको प्रहारबाट घाइते हुनसक्छ यो दिल
हेर्नुस् यो युद्ध घमासान परस्पर हुनसक्छ।

तनले होइन मनले दुरी निर्धारण हुन्छ प्रिय,
र नजिकै एउटा नदी अर्को बगर हुनसक्छ।

मान्छे मान्छेदेखि तर्सेर हिडेको देख्छु यहाँ,
मलाई शङ्का छ यो ठाउँ सहर हुनसक्छ।