Logo
१६ चैत्र २०८०, शुक्रबार

 भारतले महाकालीको बाँध अझै हटाएन

अक्षरपाटी
२०७९ पुस ५ , मंगलबार ११:१२ मा प्रकाशित

धनगढी।  भारतीय पक्षले महाकाली नदी किनारमा निर्माण गरेको बाँध नहटाएपछि दार्चुलामा प्रदर्शन गरिएको छ। सोमबार भारतविरुद्ध नारावाजी तथा विरोध प्रदर्शन गरिएको हो। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र स्थानीयहरुको सहभागितामा हिजो दिनभर भारत विरोधी प्रदर्शन गरिएको थियो।

नेपालतर्फ महाकालीको धार परिवर्तन हुने गरी भारतले निर्माण गरिरहेको तटबन्धको संरचना १० दिनभित्र हटाउन नेपाल र भारतीय प्रशासनबीच सहमति भएको थियो। तर, भारतले सहमति जनाएपनि कार्यान्वयन गर्नमा भने अटेरी गरिरहेको छ। महाकाली नगरपालिका–४ स्थित रिङ्गे ताल क्षेत्रमा तटबन्ध निर्माण गर्दा बनेको बाँध नहटाइएको बताइएको छ।

१० दिन समय बित्दा पनि भारतीय पक्षले महाकाली नदीमा बनाएको बाँध नहटाएको कम्युनिष्ट पार्टीका दार्चुला सचिव लोकेश नेपालीले बताए। ‘भारतले अझैसम्म त्यो महाकालीमा बाँध हटाएको छैन। सहमति भयो मात्र भनियो। काम भएको छैन,’ उनले भने, ‘सहमति भएअनुसार काम पुरा नहुँदासम्म हामी निरन्तर संघर्ष गर्छौ।’ रिङ्गे ताल क्षेत्रमा बनेको बाँधले नदीको धार नेपालतिर फर्किएको छ। यसअघि नेपाल र भारतीय प्रशासनबीचको छलफलमा भारतीय पक्ष १० दिनभित्र उक्त बाँधको निकास खोज्न र तटबन्ध विवाद सुल्झाउन सहमत भएको थियो।

मंसिर १८ मा भारतीय पक्षले महाकाली नेपालतिर धकेल्ने गरी एकलौटी तरिकाले तटबन्ध गर्न थालेपछि दार्चुलाका स्थानीय भारतको विरोधमा उत्रिएका थिए। त्यसपछि विरोध बढ्ने देखिएपछि नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पनि पठाएको थियो। त्यसपछि नेपाल र भारतका स्थानीय प्रशासनबीच सीमामा भइरहेको तनाव सुल्झाउने सहमति भएको थियो।