Logo
१२ वैशाख २०८१, बुधबार

यती एयरलाइन्सले भोलि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने

अक्षरपाटी
२०७९ पुस ६ , बुधबार ०९:१२ मा प्रकाशित

काठमाडौं। निजी क्षेत्रको हवाई संस्था यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको छ।

नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय क्षेत्र पोखरामा आगामी जनवरी १ तारिखदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती एयरलाइन्सले भोलि बिहीबार प्रदर्शन उडान गर्न लागेको हो।

एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे एटिआर–७२ विमानमार्फत प्रदर्शन उडान गर्न लागेको जानकारी दिए।

उडान भर्ने तयारीस्वरुप एयरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयारी गर्ने, तालिम दिने, भूमिस्थ उपकरण व्यवस्थापन गर्ने र विमानस्थलस्थित अफिस तयारी गर्ने आन्तरिक कामलाई तीव्र बनाएको छ।

यती एयरलाइन्सले चालक दलका सदस्यलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एयरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न लागेको प्रवक्ता बर्तौलाले बताए।

यसरी हुने उडानले चालक दलका सदस्यलाई नयाँ विमानस्थलको वस्तुस्थिति जानकारी हासिल गर्न सहज हुने सो एयरलाइन्सले जनाएको छ।

काठमाडौंबाट पोखराका लागि यतीले दैनिक सातवटा उडान गर्दै आएको छ भने अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नियमित उडानको सङ्ख्या थप गर्ने र पोखराबाट अन्य विमानस्थलमा क्षेत्रीय उडान गर्ने तयारी गरेको छ।

यती एयरलाइन्स