Logo
२७ पुस २०८१, शनिबार

सत्ता साझेदार दलको बैठक सकियो, विश्वसको मत माग्ने निर्णय

अक्षरपाटी
२०७९ पुस २४ , आईतबार १०:०१ मा प्रकाशित

काठमाडौं। सत्ता साझेदार सात दलको बैठकले सरकारका लागि संसद्मा रहेका सबै राजनीतिक दलसँग विश्वासको मत माग्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा आज साँझ बसेको बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने र छिट्टै औपचारिक रूपमा सार्वजनिक गर्नेसमेत निणर्य गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

बैठकमा सत्ता साझेदार दलहरूबीच संघीय र प्रादेशिक तहमा सत्ता साझेदारीको प्याकेजका बारेमा छलफल भएको थियो।

सत्ता साझेदारीका बारेमा सहमति जुटेको र शीर्ष तहमा समझदारी कायम गरी छिट्टै सार्वजनिक गर्ने पनि बैठकले निर्णय गरेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतको सहभागिता थियो।

आजको बैठकले सातवटै प्रदेशका प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरु बाँडफाँटमा सहमति जुटाउने भनिए पनि निर्णय हुन सकेको छैन।

माओवादी, राप्रपा र जसपाका सांसदहरुले समर्थनमा आजै प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन्।

प्रतिनिधिसभाको पहिलो बैठक भोलि सोमबार बस्दैछ। बैठकमा सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका नेताले शुभकामना मन्तव्य दिनेछन।्

सोमबारको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनेछन्। प्रधानमन्त्री दाहालले मंगलबार विश्वासको मत लिनेछन्।