Logo
१२ वैशाख २०८१, बुधबार

सुदूरपश्चिममा तत्काल संसद बैठक बोलाउन माग, ११ बजे सर्वदलीय बैठक

अक्षरपाटी
२०७९ पुस ३० , शनिबार ०९:०१ मा प्रकाशित

धनगढी। सुदूरपश्चि प्रदेशमा सभामुख चयन प्रक्रियामा देखिएको विवाद अझै सुल्झिएको छैन।

शुक्रबार अनिश्चित समयका लागि स्थगित भएको सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाउनेबारे अहिले ११ बजे सर्वदलीय बैठक बस्दै छ ।

बिहीबार साँझ सभामुख चयनका लागि भएको मतदानमा कसैको पनि बहुमत नपुगेपछि हिजो बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो।

तर, हिजै बसेको सर्वदलीय बैठकमा कांग्रेसले सुरुबाटै निर्वाचन प्रक्रिया थाल्नुपर्ने अडान राखेपछि सहमति हुन सकेको थिएन ।

शुक्रबार साँझसम्म सभाध्यक्ष शिवराज भट्ट सम्पर्कमा नआएपछि सत्ता गठबन्धनका २९ जनाले हस्ताक्षर गरेर तत्काल संसद् बोलाउन माग गरेका हुन्।

सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन्। उनीहरुबीच आज निर्वाचन गर्ने कि अर्को दिन भनेर सर्वदलीय बैठकले टुङ्गो लगाउने छ।

प्रदेश सभाका २९ जना सदस्यले तत्काल प्रदेश सभाको बैठक आह्वान गर्न शुक्रबार साँझ प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

प्रदेश सरकार गठन भएको एक दिन नबित्दै सुदूरपश्चिम प्रदेश सरकारमा सत्तारुढ दलहरु सभामुख चयनका लागि बहुमत जुटाउन असफल भएका हुन्।

सुदूरपश्चिम