Logo
१५ वैशाख २०८१, शनिबार

कैलालीमा दुई नाबालकलाई दादुरा संक्रमण पुष्टि

अक्षरपाटी
२०७९ माघ ८ , आईतबार ०५:०१ मा प्रकाशित

धनगढी। कैलालीमा दुई जना नाबालकमा दादुरा संक्रमण पुष्टि भएको छ।

दुई जनाको नमुना संकलन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कैलाली प्रमुख लालबहादुर धामीका अनुसार गोदावरी नगरपालिका ३ भैसीहारका ५ वर्ष १० महिना र गौरीगंगा नगरपालिका ६ का १८ महिने बालकमा दादुरा पुष्टि भएको हो।

उनका अनुसार दुवै बालकले दादुराविरुद्धको खोप लगाए पनि दादुरा देखिएको छ।

गौरीगंगाको बालकमा डोटीबाट फर्केपछि दादुरा देखिएको हो। यस्तै, धनगढी उपमहानगरपालिका १ पशुपति टोलका दुई बच्चामा पनि दादुराको लक्षण देखिएपछि उपचार भइरहेको छ। उनीहरूको नमुना संकलन गरेर ल्याबमा पठाइएको छ।

धनगढीका साढे तीन वर्षका एक बालकले आधा खोप लगाएर र अर्का खोप नलगाएका पाँच वर्षीय बालक भारत गएर फर्किएपछि दादुरा देखिएको उनले बताए।

धनगढीका ती दुवै बालक छिमेकी हुन्। उनीहरूका अभिभावकहरू बच्चासहित रोजगारीका लागि भारत आउने जाने गर्नाले खोप छुटेको हुनसक्ने स्वास्थ्य कार्यालयले अनुमान गरेको छ।