Logo
१२ वैशाख २०८१, बुधबार

पार्टीको विधान विपरित कार्यशैलीप्रति कांग्रेस केन्द्रीय सदस्य महरको आपत्ति, सांसदको मौनतामाथि प्रश्न

अक्षरपाटी
२०७९ माघ ९ , सोमबार १२:०१ मा प्रकाशित

काठमाडौं, ९ माघ। नेपाली कांग्रेसले निरन्तर विधान विपरीत कार्य गर्दै आएको भन्दै केन्द्रीय सदस्य नैनसिंह महरले आपत्ति जनाएका छन्।

उनले नेपाली कांग्रेसमा विधान विपरीत निरन्तर पदाधिकारी बैठकको अभ्यास भइरहेको भन्दै यसले पार्टी हित विपतिर कार्य गर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महरले भनेका छन्, ‘विचार समूहका नाममा हुने बैठकमा पनि पार्टी विधानसम्मत सञ्चालनको विषय प्राथमिकतामा पर्दैन। केवल आफ्नो निहीत स्वार्थलाई केन्द्रमा राखेर हुने छलफलको पार्टीका लागि के अर्थ ?’

उनले लामो समयदेखि पार्टीका भार्त संस्थालाई पनि पार्टीले मृत अवस्थामा पुर्याएको भन्दै रोष प्रकट गरेका छन्। भ्रातृ संस्थाको ६ देखि १६ वर्षसम्म अधिवेशन हुन नसक्दा नेतृत्व विकासमा ठूलो भ्याकुम खडा भएको उनको भनाइ छ।

आफै पनि नेवि संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका महरले भनेका छन्, ‘सबै भ्रातृ संस्थाको विधान संशोधन गरेर पदाधिकारीसहित ठूलो संख्यामा कमिटी ल्याउन पार्टीका लागि हितकर हुन्छ।’

उनले कुनै नेता वा नेताका परिवारको निकटताका आधारमा गोजीबाट भातृ संस्थाको नेतृत्व सुम्पने प्रवृत्ति बन्द हुनुपर्ने आशयको अभिव्यक्ति दिएका छन्।

भनेका छन्, ‘विधनाअनुसार भ्रातृ संस्था र पार्टीका विभागमा साथीहरुलाई जिम्मेवारी दिएर संगठन निर्माणको मैदानमा उर्तान अब पनि ढिलो गर्नुहुँदैन।’

उनले वर्तमान सरकारमा स्वार्थ बाझिएका र विभिन्न काण्डमा जोडिएका व्यक्तिहरु सहभागी भएको आरोप लगाउँदै भनेका छन्, ‘तिनीहरुको भण्डाफोर गर्न काँग्रेसका हाम्रा सांसदलाई केले रोकेको छ ? हामी किन बोलिरहेका छैनौं ?’

नैनसिंह महर