Logo
१४ वैशाख २०८१, शुक्रबार

उपनिर्वाचनः चितवन २ मा को बन्ला उम्मेदवार ?

अक्षरपाटी
२०७९ माघ १४ , शनिबार १०:०१ मा प्रकाशित

काठमाडौं १४ माघ । रवि लामिछानेको नागरिकता विवाद मुद्दामा सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवन २ नम्बर क्षेत्र रिक्त बनेको छ।

यससँगै सो क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग परामर्श गरेर निर्णय लिने बताएको छ।

आयोगका एक पदाधिकारीले रवि लामिछानेको सम्बन्धमा कुनै जानकारी आइनसकेको र औपचारिक पत्र आएपछि उपनिर्वाचनको प्रक्रिया सुरु गर्ने बताए।

उनका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार रिक्त रहेको क्षेत्रमा उपनिर्वाचन हुनेछ। ‘ऐनमा व्यवस्था भएबमोजिम नै उपनिर्वाचन हुन्छ,’ उनले जानकारी दिए।

मंसिर ४ को निर्वाचनमा चितवन २ बाट लामिछाने विजयी भएका थिए। उनले कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए।

यता सत्ता गठबन्धनभित्र उपनिर्वाचनका विषयमा अनौपचारिक छलफल सुरु भएको छ। उपनिर्वाचनमा गठबन्धनबाटै उम्मेदवार उठाउने वा मित्रवत् प्रतिस्पर्धा गर्ने विषयमा छलफल सुरु भएको छ।

मंसिर ४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी र एमालेले फरक फरक उम्मेदवार उठाएको थियो। तर अहिले दुवै पार्टी सत्ता साझेदार छन्। यस्तो अवस्थामा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा गठबन्धनमा बहस सुरु भएको छ। यस विषयमा आजैदेखि गठबन्धनका शीर्ष नेताहरूबीच छलफल हुने बताइएको छ।

उपनिर्वाचन चितवन