Logo
२४ मंसीर २०८१, सोमबार

उपनिर्वाचन अन्तर्गत आज मध्यरातिदेखि मौन अवधि सुरु

अक्षरपाटी
२०८१ मंसीर १३ , बिहीबार ०४:११ मा प्रकाशित

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ।

मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको हो।

मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाइने छैन।

आयोगले उपनिर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सरकारलाई निर्देशन दिइसकेको छ। बिहीबार बसेको आयुक्तहरूको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयमार्फत निर्देशन दिएको हो।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य गरिएको पाइएमा कानुनी कारबाही हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगले जारी गरेको आचारसंहिता अनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ।

उपनिर्वाचन हुने स्थानीय तहमा अनधिकृत एवं शंकास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्न, सुक्ष्म ढंगले अनुगमन गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनियतामा आँच आउने कुनै कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शंका लागेमा वा कुनै सूचना प्राप्त भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्न आयोगले निर्देशन जारी गरेको छ।

उपनिर्वाचन