Logo
८ वैशाख २०८१, शनिबार

जनताको स्वास्थ्यप्रति प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीसम्म संवेदनशील !

अक्षरपाटी
२०७९ माघ १५ , आईतबार ०३:०१ मा प्रकाशित

काठमाडौं १५ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

बाँसबारीस्थित सहीद गंगालाल हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनताको स्वास्थ्यलाई महत्व दिएरै संविधानमा मौलिक हकका रुपमा स्थापित गरिएको बताए । उनले स्वास्थ्य सेवालाई व्यवहारमा लागू गर्न केही कठिनाइ भएकाले सरकारले यथासिघ्र ऐनको व्यवस्था गर्ने बताए।

उनले अघिल्लो कार्यकालमा स्वास्थ्य क्षेत्रमा केही काम गर्ने अवसर पाएको स्मरण गर्दै यो कार्यकालमा सातै प्रदेशमा विशेष अस्पताल स्थापना गर्ने, तीं अस्पतालमार्फत मुटु रोगको उपचारलाई उच्च प्राथमिकतामा राखिने बताए।

उनले हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने जानकारी दिए। हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्नुपर्ने मागलाई सरकारले पनि गम्भीरतापूर्वक लिएको प्रधानमन्त्री दाहालले बताए।

सोही कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले कुनै पनि नागरिकले पैसाकै अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्ने बारेमा सरकार गम्भिर रहेको बताइन्। उनले अब हरेक नागरिकलाई स्वास्थ्य उपचार कसरी सहज र सुलभ हुन्छ भन्ने कुरामा सरकार गम्भिर भएर लाग्ने बताइन्।

उता नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएका छन्।

न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरुलाई काममा लगाउने कुरा अस्वीकार्य हुने बताउँदै मन्त्री गिरीले त्यस्ता निजी अस्पतालको अनुगमन गरेर त्यसरी नर्सहरुको श्रम शोषण गर्ने अस्पताल कारबाहीमा पर्ने बताए।

उनले भने, ‘मैले मासिक ८–१० हजारमा पनि निजी क्षेत्रमा नर्सहरुले काम गर्नुपर्ने कहाली लाग्दो अवस्था सुनेको छु। त्यस्तो तथ्य र प्रमाण खोज्न छिटै अनुगमन गर्नेछु।’