Logo
१२ वैशाख २०८१, बुधबार

सत्ता गठबन्धनमा किन हुँदैछ भद्रगोल ?

अक्षरपाटी
२०७९ माघ १८ , बुधबार १०:०२ मा प्रकाशित

काठमाडौं, १८ माघ। वर्तमान सरकार गठनको महिना दिन पुग्दा नपुग्नै असमझदारी सुरु भएको छ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी संघीय सरकारमा सामेल नहुने र प्रदेशमा विश्वासको मत दनिने अडानमा छ। त्यस्तै सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि पुनः गृहमन्त्री नपाएर सरकारबाट बाहिरिनेसम्मको मनस्थितिमा पुगेको छ।

इतिहासमै अभूतपूर्व विश्वासको मत (२७५ सांसदमध्ये २६८ को समर्थन) पाएको सरकार किन यति कमजोर हुँदैछ ? यस प्रश्नको उत्तर खोज्न सरकार निर्माणको जगमा पुग्नुपर्ने विश्लेषण गरिन थालेको छ।

हिँजो नेकपा पार्टी हुँदा र सो पार्टी विखण्डनसम्म पुग्दा तत्कालीन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच निकै तिक्ततापूर्ण सम्बन्ध रह्यो। एकअर्काप्रति विषवमन नै गरे। र ओली मनोमानी ढंगले मात्रै चलेनन्, उनले संविधानको मर्मविपतिर दुई दुईपटक संसद नै विघटन गरिदिए।

जसकारण अदातलबाटै भएको फैसलापछि माओवादी केन्द्रका अध्यक्ष बनेका पुष्पकमल दाहाल नेपाली कांग्रेसलगायतका दलहसँग गठबन्धन गरेर अघि बढे र ओलीका कदमविरुद्ध उभिए। तर यो कुरा नेकपा एमालेका अध्यक्ष ओलीका लागि स्वीकार्य थिएन। यद्यपि तत्कालीन सरकार नेतृत्वकर्ता ओलीको कदम त्यसबेलाको गठबन्धनले असफल बनाइदियो।

ओली जसरी पनि तत्कालीन गठबन्धन तोड्न चाहन्थे र त्यही चाहना बमोजिम वर्तमान सत्ता गठबन्धन निर्माण भयो। विश्लेषकहरु भन्छन्, यो गठबन्धन निर्माणको उद्देश्य पवित्रभन्दा प्रतिशोधपूर्ण छ, त्यसैले कहीँ न कहीँ तुस छ।

अर्को महत्वपूर्ण विषय, नागरिक उन्मुक्ति पार्टी एकाएक आफ्ना मुद्दाको बलमा पश्चिमबाट उदायो। वर्तमान सरकार निर्माणका लागि नेतृत्व गरेका ओलीले सो पार्टीलाई दिएको बन्दी रिहाइको आस्वासन अहिले पेचिलो बनिरहेको छ।

रास्वपाका अध्यक्ष रवि लामिछानेविरुद्ध नागरिकता विवादको मुद्दा अदालतमा विचाराधिन थियो, यही कारण र महत्वपूर्ण गृह मन्त्रालय सरकार नेतृत्वकर्तासँग हुनुपर्ने मतका कारण प्रधानमन्त्री दाहाल त्यो मन्त्रालय आफैसँग राख्न चाहन्थे। तर सत्ता गठबन्नका शीर्ष नेताहरुकै कारण उनले त्यो मन्त्रालय रास्वपालाई दिनुपर्यो।

नागरिकता विवादको मुद्दामा आएको फैसलालगायत थप आरोपका सम्भावनाहरुलाई आंकलन गरेर प्रधानमन्त्री गृह मन्त्रालय रास्वपालाई दिन चाहँदैनन्। जसका कारण पनि सरकार साझेदार दल रास्वपा र प्रधानमन्त्रीका बीच चीसोपन बढेको छ।

त्यो मात्रै होइन, वर्तमान गठबन्धनको पहल गरेको एमाले सभामुखदेखि राष्ट्रपतिमा आफ्नै हालीमुहाली गर्न चाहिरहेको कुरा प्रस्ट हुँदै गएको छ। प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबैको सहमतिमा राष्ट्रपति चयनको धारणालाई लिएर ओलीले सकारात्मक प्रतिक्रिया दिएका छैनन्। यसले पनि यो गठबन्धनमा चिसोपन बढ्दै गएको छ।

यसरी हेर्दा वर्तमान गठबन्धनको उद्देश्य नै सफा नभएको, दाहाललाई अघि लगाएर एमालेले आफू अनुकूल शक्ति आर्जन गर्न खोज्नु र गठबन्धन निर्माणका क्रममा साना दलसँग गरिएका वचनवद्धता  गठबन्धनमा धक्का पुग्नुको कारण भएको विश्लेषकहरु बताउँछन्।

अर्कोतिर आफ्नै अदूरदर्शिताका कारण तत्कालीन गठबन्धन भत्काएको पीडाको प्रतिसाेध नेपाली कांग्रेसले पनि वर्तमान गठबन्धन असफल बनाएर आफूअनुकूल अवस्था सिर्जना गर्न चाहनु यो सरकार कमजोर बन्नुको कारण भएको राजनीतिक विश्लेषकहरुको बुझाइ छ।

सत्ता गठबन्धन