Logo
१४ वैशाख २०८१, शुक्रबार

सुदूरपश्चिमका भूकम्प पीडितको उचित व्यवस्थापन गरियोस् : नेता महर

अक्षरपाटी
२०७९ माघ १८ , बुधबार ११:०२ मा प्रकाशित

काठमाडौं १८ माघ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पटक-पटकको भूकम्पबाट प्रभावित बनेका सुदूरपश्चिमका नागरिकको रेखदेखमा सरकारको ध्यान पुग्न नसकेको बताएका छन्।

कपनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले भूकम्पले भौतिक र मानवीय क्षति पुर्‍याएको र बाचेकाहरू पनि माघको कठ्याङ्ग्रिदो जाडोमा सास्ती खेप्न बाध्य रहेकाले उनीहरूको उचित व्यवस्थापनमा सरकारको ध्यान पुग्नुपर्ने बताएका हुन्।

‘केही महिना यता सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पटक-पटकको भूकम्पले भौतिक र मानवीय क्षति पुर्‍याएको थियो। कठ्याङ्ग्रिदो जाडोमा प्रभावित क्षेत्रका जनता त्रिपाल मुनी भोकभोकै बस्न बाध्य छन्। विद्यालय भवन चर्किएका र भत्किएका कारण स्कुले विद्यार्थी हिउँले ढाकिएको मैदानमा पढ्न बाध्य छन्। तर, सरकारको ध्यान पुग्न सकेको छैन,’ उनले भने।

जनताको अभिभावकका रूपमा रहेको सरकारसँग भूकम्पको क्षतिको यकिन विवरणसमेत नभएको उनको गुनासो छ। राहत र उद्धार तथा सम्भावित जोखिमसँग लड्ने पूर्वतयारी नै नदेखिएकाले सरकार जनताप्रति उत्तरदायी नदेखिएको उनले बताए।

नैनसिंह महर