Logo
१३ वैशाख २०८१, बिहीबार

पुरै राजनीति एक जना व्यक्तिको गल्तीले बदनाम छ : विश्वप्रकाश शर्मा

अक्षरपाटी
२०७९ फागुन ७ , आईतबार ०२:०२ मा प्रकाशित

सुर्खेत ७ फागुन। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिभित्र कुनै एक व्यक्तिले गरेको गल्तीका कारण पूरै राजनीति बदनाम हुने गरेको बताए।

कर्णाली उत्सवको चौथो संस्करणको ‘सग्लो समाजः सङ्लो राजनीति’ सत्रमा बोल्दै शर्माले केही राजनीतिज्ञको प्रवृत्तिका कारण समग्र राजनीतिप्रति जनतालाई वितृष्ण जागेको बताए।

‘राजनीति भित्र भएका सबै मानिस एउटै छैनन्, केही राम्रा पनि छन् भन्ने कुरा जनतालाई बुझाउन सकिएको छैन,’ उनले भने, ‘गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न नसक्नु, समयमै आयोजना सम्पन्न नहुनु, भनेको बेला सेवा लिन नपाउनु जस्ता कुराले राजनीतिप्रति मानिसलाई वितृष्णा जागेको पाईन्छ।’

उनले कुनै दिन जिल्ला प्रशासन कार्यालय नागरिकता लिन पुगेको मानिसले समयमै नागरिकता नपाउँदा त्यहाँ ढिलो गर्ने कर्मचारीलाई भन्दा नेतालाई गाली गर्ने गरेको पनि स्मरण गरे।

संस्थामै राजनीतिकरण हुने गरेकाले अहिले राजनीति निश्पक्ष नभएको उनको भनाइ थियो। उनले राजनीतिक रुपमा हुने हरेक निर्णयहरु निश्पक्ष हुनुपर्ने बताए।

उनले राजनीतिलाई सङ्लो बनाउन राजनीतिज्ञले पदको लोभ गर्न नहुनेमा जोड दिए। ‘राष्ट्रपति बन्ने हो भने एकपटक मात्र बनोस्, प्रधानमन्त्री बनेको मान्छे दुईपटक मात्र बनोस्,’ महामन्त्री शर्माले भने, ‘मन्त्री बन्ने हो भने तीन पटक र सांसद बन्ने हो भने ४ बर्ष बनोस्, बाँकी समय अर्कोलाई मौका दिनुपर्छ।’

उनले राजनीतिज्ञले संवैधानिक निकायमा आफ्नो भाग खोज्ने प्रवृत्ति समाजमा राजनीतिप्रति वितृष्णा जगाउने अर्को विषय भएको टिप्पणी गरे। देश विकासका लागि राजनीतिक दलको मात्र योग्दान छ भन्ने बुझाईलाई छोड्नुपर्ने उनको सुझाव थियो।

महामन्त्री शर्माले बालबालिका, महिला, युवाबीचको असमानतालाई हेरेर राजनीतिले आफ्नो बाटो निर्धारण गर्नुपर्नेमा जोड दिए। यसरी अघि बढे राजनीति सङ्लो बन्ने उनको सुझाव थियो।

‘हामी अहिले जुन स्थानमा छौं त्यो अपर्याप्त छ, हामी कयौं दुनियाँको तुलनामा कमै छौं,’ उनले भने, ‘हामीले जति गर्नुपथ्र्यो त्यो गर्न नसकिएको कुरा आत्मसात गर्नुपर्छ, तर हामीले केही गरेका कुरालाई पनि मनन् गर्नैपर्छ।’

सत्रमा सहभागी मानव अधिकारकर्मी मोहना अन्सारीले यसअघि असमानता र विभेदमा टिकेको नेपालको राजनीति विस्तारै परिवर्तन हुँदै गएको बताइन्। उनले जनताको चाहना बुझेर राजनीतिक दलले आफ्नो बाटो निर्धारण गर्नुपर्नेमा जोड दिइन्।

‘जनताले मेरो घरलाई सिंहदरबार बनाइदिनु भनेका छैनन्, उनीहरुले रोजगारीका लागि हामी भौतिारिनु नपरोस् भन्ने चाहेका छन्,’ उनले भनिन्, ‘यस्ता कुरालाई राजनीज्ञले बुझ्न जरुरी छ।’

अन्सारीले समाजको प्रतिबिम्वका रुपमा रहेको राजनीति सफा भए मात्र समाज पनि सफा हुने बताइन्। ‘राजनीति सफा भए समाज सफा हुने हो, तर त्यो प्रत्याभूति जनताले गरेको अहिलेसम्म पाईएको छैन,’ उनले भनिन्, ‘यसमा नीतिगत, कानुनी अड्चन छन्, सङ्लो राजनीति गर्न यसलाई सुधार गर्नुपर्छ।’

कुणा कर्णालीका विश्वप्रकाश शर्मा