Logo
११ वैशाख २०८१, मंगलबार

मलाई हुनसक्छ जन्मकैद !

अक्षरपाटी
२०७९ फागुन २७ , शनिबार ०९:०३ मा प्रकाशित

० लीला अनमोल

… माओ र लेलिनको कम्युनिस्टवाद
मेरो देशमा आइपुग्दा
सर्वहाराको छातीमा बुट बजार्ने भएर आयो
विपीको चिन्तनको समाजवाद
पूँजीवादको प्रगतिमा हौसियो
पुष्पलाल र मदन भन्डारीको सपना
सिंहदरबारको कुर्सीमा पुगेर तुहियो …

तिम्रो बलिदानीको एउटा सानो कथा
सुनाउन उभिएकी छु
मलाई जन्मकैद हुन सक्छ ।

यहाँ तिम्रो कामको फेहरिस्त
सुनाउन मनाही छ
भत्काएर सालिक
अधिकार खोज्नेहरूको युद्धबाट
भागेर बाँचेकी म
बोकेर आएकी छु इतिहासका ठेलीहरू
औंठाछाप लगाएपछि न्यायले सत्तामा
म संविधान लुटिएर
देशभित्रै शरणार्थी भएकी छु ।

पराजित गरेर शत्रुहरू
जब तिमीले बाइसे-चौबिसे राज्य एक बनायौ
इतिहास पल्टाउँदा ढक्क फुलेथ्यो छाती
एकताको हाँक दिएर
विश्वभर म मेरो पहिचान प्रदर्शन गर्दथेँ
तिम्रै पदचाप पछ्याएर हिँडेदेखि त हो नि
म देशद्रोही भएकी,

सिमाना टेकेर मेरो माटोको कथा भन्न उभिएपछि
अपहरित भएकी हुँ त्यहीँबाट
र अदालत दाखिला भएकी हुँ
पुर्पक्षको बहानामा
सोझै कारागार भएकी म
त्यहीँ पढेथेँ
बिपिको ‘जेलजर्नल’
मेक्सिम गोर्कीको ‘मदर’लाई
त्यहीँ छामेथेँ हत्केलाले
जागेर दुईचार अनिँदा रातहरू ,
त्यहीँ छिचोलेथेँ कार्लमाक्सलाई
‘कम्युनिस्ट मेनिफेस्टो’मा
र त्यहीँ पढेथेँ
माध्यमिक तहपछि दोश्रो पटक
मेरो देशका
राजा महाराजाहरूको इतिहास
माओ र लेलिनको कम्युनिस्टवाद
मेरो देशमा आइपुग्दा
सर्वहाराको छातीमा बुट बजार्ने भएर आयो
विपीको चिन्तनको समाजवाद
पूँजीवादको प्रगतिमा हौसियो
पुष्पलाल र मदन भन्डारीको सपना
सिंहदरबारको कुर्सीमा पुगेर तुहियो
यसरी,

तासेर आदिवासी छाला
सुकायौ सडकमा
र शीतलहरबाट बचाउने बहानामा
तराईमा मधेसीहरूको बस्ती डढायौ
यसरी जब सङ्कट आइरहेछ देशमा
म अहिले मुक्त भएर कारागारबाट
तिम्रो बलिदानीको एउटा सानो कथा
सुनाउन उभिएकी छु।

कविता लीला अनमोल
यो पनि हेर्नुहोस् : देश भनेको के हो !