Logo
१५ वैशाख २०८१, शनिबार

नेपाली खेलजगत : सफलतामा मात्रै हौसिने सरकार

अक्षरपाटी
२०७९ चैत्र ४ , शनिबार १०:०३ मा प्रकाशित

काठमाडौं ४ चैत । पछिल्लो एक महिनामा नेपाली राष्ट्रिय क्रिकेट टोली दिनरात नभनी मिहिनेत गरिरह्यो ।

नेपालमा र एक युएईमा गरी आईसीसी विश्वकप लिग दुई अन्तर्गत नेपालले लगतार तीन शृंखला खेल्यो।

तीनवटै शृंखलानमा नेपालले सनसनीपूर्ण प्रदर्शन गर्यो। अभुतपूर्व प्रशर्दनकै कारण शृंखलाका १२ मध्ये ११ खेलमा जित हात पार्यो। जसले नेपालको एकदिवसीय मान्यता मात्रै जोगाएन, विश्वकप छनोटसम्म पुर्यायो।

एक महिनासम्म विश्वकप छनोटमा पुग्ने लक्ष्य भेट्टाउने उद्देयमा अहोरात्र खटिएको नेपाली टोलीलाई यतिबेला सम्मान र पुरस्कारको घोषणाले थोरै भएपनि थकान मेटिएको महसुस भएको छ।

भौतिक पूर्वाधार र सेवासुविधाबिना नै क्रिकेटको सफलताले गिज्याएको सरकारले पनि अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ।

विश्वकप लिग दुई अन्तर्गत फागुन पहिलो साता त्रिवि मैदानमा भएको शृंखला क्लिनस्वीप गरेको नेपाली टोलीलाई सरकारले दुई लाख दिने घोषणा गरेको थियो। त्यसपछि अर्को शृंखला खेल्न नेपाल युएई पुग्यो। तर त्यो रकम अझै खेलाडीले पाएका भने छैनन्।

युएईपछि पुनः नेपालमै भएको लिग दुईको अन्तिम शृंखला पनि क्लिनस्विप गर्यो। जितको शुभकामना दिन फेरि नेपाली क्रिकेट टोलीलाई शुक्रबार निवासमै बोलाएका प्रधानमन्त्री पुष्पकमल दाहालले जनही तीन तीन लाख दिने धोषणा गरे।

लिग २ को प्रदर्शनबाट नेपाली क्रिकेट एक तह माथि पुगेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

क्रिकेटको सफलताले सरकारलाई गिज्याइ रहेकाबेला अध्यक्ष चन्दले संघको एकल प्रयासले मात्र क्रिकेटको विकास सम्भव नहुने उल्लेख गर्दै राज्यले नै प्राथमिकतामा राख्नुपर्ने माग गरे।

कुनै पनि खेलको सफलतामा मात्रै शुभकामना र पुरस्कारको घोषणा गर्ने प्रचलन नेपाली खेलकुद जगतका लागि नयाँ भने हैन्।

घोषणा गरेर पनि पुरस्कार रकम नै नपाएका थुप्रै उदाहरण छन्। यही कारण पनि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल त्रिवि मैदानमा पुग्दा समर्थकले अन्तर्राष्ट्रिय स्तरको रंगशाला र फ्लडलाइटको माग गर्दै नारा लगाएका थिए।

विश्वकप छनोटमा पुर्याउन सफल राष्ट्रिय क्रिकेट टोलीका खेलाडीका लागि जनही ४ लाख रुपैयाँ पुरस्कार राशिको घोषणा भयो।

केन्द्र सरकारले ३ लाख र बागमती प्रदेश सरकारका तर्फबाट जनही १ लाख रुपैयाँका दरले पुरस्कार पाउने घोषणा भयो।

प्रधानमन्त्री दाहालले शुक्रबार बिहान खेलाडीहरुलाई बालुवाटारस्थित निवासमा बोलाएर सम्मान मात्रै गरेनन्, मैदानका सुनेको नारा सम्झँदै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशनसमेत दिए।

बिहीबार निर्णायक खेलमा युएईलाई डकवर्थ लुइस पद्धतिका आधारमा ९ रनले हराएर नेपालले नामिबियालाईपछि पार्दै विश्वकप छनोटमा स्थान बनाएको थियो।

त्यही सफलताको खुसीमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्मानस्वरुप खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पनि राष्ट्रिय क्रिकेट टोलीका सदस्यको सम्मान गरे। राष्ट्रपति पौडेलले टोलीका सदस्यलाई शीतल निवासमा बोलाएर सम्मान गरेका राष्ट्रपतिले सरकारले खेलजगतलाई उपेक्षा गर्न नहुने विचार राखे।

उनले राष्ट्रिय टोलीले युएईलाई हराएर विश्वकप छनोटमा स्थान बनाइ राष्ट्रको इज्जत र गौरव बढाएको भन्दै खुसी साटे।

खेल क्षेत्रमा सरकारले पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए। तर, सरकारले नै करोडौं लगानीपछि अलपत्र परेको पूर्वाधारको भने लेखाजोखा गरेको छैन। कैयौँ संरचनाहरु अुधुरा छन्, कैयौँ अलपत्र।

क्रिकेट खेलकुद