Logo
१५ चैत्र २०८०, बिहीबार

उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा कांग्रेले दियो सबैलाई धन्यवाद

अक्षरपाटी
२०८० वैशाख १० , आईतबार १०:०४ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्य उपनिर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन्।

वक्तव्यको पूर्ण पाठ

प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा अत्यन्त उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ।

यो निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने बिश्वास लिएको छु। निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकोमा तनहुँ—१, चितवन—२ र बारा—२ का सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु।

उपनिर्वाचन भएका तीन वटै क्षेत्रहरुमा शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु।

निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिन चाहन्छु । साथै, निर्वाचनमा सहभागी राजनीतिक दल, संचारकर्मी साथीहरु एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुप्रति समेत हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु ।

नेपाली कांग्रेस