



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज असोज ७ गते देशैभर पालिका तहको अधिवेशन हुँदैछ।
वडा अधिवेशनबाट सुरु भएको महाधिवेशन प्रक्रिया स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने चरणमा प्रवेश गरेको हो।
असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशन अधिकांश स्थानमा सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
प्राकृतिक विपत्ति र विशेष परिस्थितिका बीच पनि निर्धारित सांगठनिक कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाइएको समितिको भनाइ छ।
बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका वडामा समेत अधिवेशन सम्पन्न भएको छ। मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका बाँकी केही वडामा पनि अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।
भीषण बाढीपहिरोबाट ठूलो क्षति बेहोरेको रसुवामा विशेष परिस्थितिका कारण पालिका अधिवेशनसमेत प्रभावित हुने सम्भावना छ।
सदस्यता सूची व्यवस्थापनमा ढिलाइ
केन्द्रीय समितिले २०८२ पुस २१ गतेसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई समेत समेट्ने निर्णय गरेपछि केही स्थानमा सदस्यता सूचीलाई अन्तिम रूप दिन सामान्य ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ।
पुरानो विवरणमा नयाँ नाम समावेश गर्नुपर्ने र देशभरबाट आएको ठूलो संख्याको विवरण व्यवस्थापन गर्नुपर्ने भएकाले केही स्थानमा प्राविधिक समस्या देखिएको समितिको भनाइ छ।
सदस्य सचिव अधिवक्ता राजु कटुवालले यस्तो ढिलाइ कुनै राजनीतिक विवाद वा असमझदारीका कारण नभई तथ्यांक व्यवस्थापनसँग सम्बन्धित प्राविधिक विषय भएको स्पष्ट पारेका छन्।
पालिकामा पाँच पदाधिकारी निर्वाचित हुने
कांग्रेसको नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन्।
जसअनुसार एक जना सभापति, एक महिलासहित दुई जना उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ।
कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था छ।
पालिका कार्यसमितिको सदस्यतर्फ प्रत्येक वडाबाट एक महिला र एक खुला सदस्य निर्वाचित हुनेछन्।
त्यस्तै युवा समूहबाट एक महिला र दुई खुला सदस्य तथा दलित समुदायबाट एक महिला र एक खुला सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।
मनोनयनबाट समावेशिता
पालिका कार्यसमितिलाई थप समावेशी बनाउन स्थानीय तहको प्रकृतिअनुसार थप सदस्य मनोनयन गर्न सकिने व्यवस्था गरिएको छ।
जसअनुसार गाउँ कार्यसमितिमा सात, नगर कार्यसमितिमा नौ, उपमहानगर कार्यसमितिमा ११ र महानगर कार्यसमितिमा १३ जना सदस्य मनोनयन गर्न सकिनेछ।
नेपाली कांग्रेस १५औं महाधिवेशन

