Logo
१३ वैशाख २०८१, बिहीबार

आरोपी उम्काउन ओलीको ओहोरदोहोर !

अक्षरपाटी
२०८० वैशाख २३ , शनिबार ०७:०५ मा प्रकाशित

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएपछि यतिबेला सबैभन्दा बेचैनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भएको छ।

सञ्चारकर्मीसामु नस्वीकारे पनि यही विषयलाई लिएर ओलीले शनिबार दोस्रोपटक प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटे। जुन कुरा प्रधानमन्त्री दाहालले नै पत्रकारमाझ खुलासा गर्दै भने– भुटानी शरणार्थी प्रकरणका बारेमा विषय प्रवेश भएको हो, तर प्रधानमन्त्रीसँग भेटेर सिधै त कसले पो आरोपी छोडिदिनुपर्यो भनेर भन्छ र !’

मुलुकमा विधिको शासन स्थापना गर्ने र थिति बसाउने जिम्मेवारी राजनीतिक दलका नेताहरुको हो। त्यसमा पनि दलको नेतृत्व गरेका शीर्षहरु त यसमा सबैभन्दा संवेदनशील र मर्यादित हुनैपर्छ।

शासन प्रणालीमा सुधारका लागि कानुन बनाउने र कानुनको प्रभावकारी कार्यान्वयन गर्न लगाउने दायित्व पनि राजनीतिक नेतृत्वकै हो। विडम्बना हाम्रो राजनीतिक नेतृत्व थिति बसाल्न होइन बिगार्नतिर उद्यत छ।

हत्या अभियोग र ठगीको घटनामा प्रहरीले खोजिरहेका व्यक्तिलाई ओत दिने काम राजनीतिक दलको नेतृत्वबाट भइरहेको उदाहारण धेरै उदाहरण छन्।

अदालतबाट पक्राउ पुर्जी जारी भइसकेपछि टोपबहादुर रायमाझी अब एमालेका सचिव होइनन्, सांसद पनि होइनन्, फरार आरोपी हुन्। कानुनको नजरमा उनी फरार छन्।

हुन त यसअघि पनि ओलीले वा उनको पार्टीले हत्या अभियोगमा उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न भनेका व्यक्ति लक्ष्मी महतो कोइरीलाई फूलमाला लगाएर पार्टीमा स्वागत मात्रै गरेनन्। सांसदको टिकट दिएर संसद प्रवेश गराए। एमालेबाटै सभामुख बनेका देवराज घिमिरेले उनलाई बिरामी मात्रै बनाउन खोजे। तर उनी कानुनको नजरमा फरार अभियुक्त हुन्।

राजनीतिमा यो मात्र होइन बेथितिको पराकाष्टा पस्कन खोजको पछिल्लो उदाहरण बनेको छ– नक्कली भुटानी शरणार्थी प्रकरण। एमाले अध्यक्ष ओलीले पछिल्लोपटक करिब एक अर्ब रुपैयाँ ठगीको प्रकरणमा जोडिएका पार्टी सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बचाउमा उभिएर राजनीतिक दल भनेका विवादित र ओरोपीलाई ओत दिने छानो भएको सन्देश प्रवाह गरेका छन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको प्रकरणमा बहालवाला सचिव पक्राउ परेका छन्। धेरै नेता तानिने अवस्थामा छन्।

यसअघि पक्राउ परेका गिरोहका मुख्य व्यक्तिसँगको बयानका आधारमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई नियन्त्रणमा लिएको प्रहरीले एमाले सचिव एवं पूर्वउपप्रधानमन्त्री रायमाझीविरुद्ध पनि पक्राउ पूर्जी जारी गर्यो।

पक्राउ पूर्जी जारी भएपछि अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसँग एउटै मञ्चमा उपस्थित भएका रायमाझी त्यहि दिन रातिदेखि एकाएक सम्पर्कविहीन भए। सम्पर्कविहीन हुनुअघि उनीसँग एमाले अध्यक्ष ओलीले पनि कुरा गरेको मात्रै बताएनन् मुलुकमा सुशासन कायम गराउनका लागि सबैभन्दा जिम्मेवार दलको अध्यक्ष भन्न रुचाउने आलीले रायमाझी बाटैमा समात्नुपर्ने व्यक्ति नभएको प्रतिक्रिया दिए।

शनिरबार आएर उनले पुनः सञ्चारकर्मीसँग उनी कहाँ छन् भन्ने कुरा पत्रकारलाई खोज्न भन्दै रुखो प्रतिक्रिया दिए।

बिहीबार पनि सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेटेका ओलीले रायमाझीलाई जसरी फसाउन खोजेको भन्दै दुख बिसाए शनिबार पनि सोही विषयमा चासो देखाएको कुरा स्वयम् प्रधानमन्त्रीले सञ्चारकर्मीसँग खुलासा गरे। ओलीलाई भेटेर निस्के लगत्तै प्रधानमन्त्री दाहालले नेकपा दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा बोल्दै आफू कुनै पनि दबाबमा नपर्ने मात्रै बताएनन्, ‘अब भ्रष्टाचारका ठूला फाइल क्रमसः खुल्दै जाने’ प्रतिक्रिया दिए।

ओली जिम्मेवार दलका जिम्मेवार नेता हुन्थे भने आरोप लागेपछि पार्टीका सचिव मात्रै होइन अन्न नेता कार्यकर्ता रहेछन् भने पनि कानुनी प्रक्रियामा जान सुझाव दिनुपर्ने हो। भोलिदेखि सुरु हुने वर्षे अधिवेशका विषय र प्रसंगमाथि चिन्ता र चासो राख्नुपर्ने हो।

तर उनी प्रहरीले ठगी प्रकरणमा खोजी गरिरहेका नेतालाई जोगाउन चिन्तित देखिएर आफ्नो चिन्तनको आयतन प्रदर्शन गरे।

त्यसैले नीतिहरुको सर्वोत्कृष्ठ नीतिलाई अंगालेर राजनीति गरिरहेका नेताहरुमा लोभ र पाप पलाएर विचलन देखिए पनि यो र यस्ता प्रकरणमा जोडिएका राजनीतिक र प्रशासनिक व्यक्ति जो कोही भए पनि उनीहरु सबैलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले खुट्टा कमाउनु हुँदैन।

केपी शर्मा ओली