Logo
१५ वैशाख २०८१, शनिबार

अडियो ‘फेक’ भएको भन्दै आरजुले दिइन साइबर ब्युरोमा उजुरी

अक्षरपाटी
२०८० वैशाख २७ , बुधबार ०५:०५ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको अडियो ‘फेक’ भएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।

उनले अडियोबारे छानबिन गरी दोशीलाई कारबाही गर्न माग गर्दै ब्यूरोमा निवेदन दिएकी हुन्।

राणाले केही संचार माध्याम र सामाजिक संजालमा सार्वजनिक गरिएको सो फेक अडियो बदनियतपूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गर्दै आज साइबर ब्युरो भोटाहिटीर्मा उजुरी दिएकी छन्।

‘विभिन्न संचार माध्यामहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भूटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य बेहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु,’ देउवाले दर्ता गरेको निवेदनमा भनिएको छ।