Logo
३ भदौ २०८३, बुधबार

३१ सांसदको समर्थन पाएपछि ढुक्क भए सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट

अक्षरपाटी
२०८३ भदौ ३ , बुधबार ०३:०८ मा प्रकाशित

कैलाली ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मुख्यमन्त्री नियुक्त भएको पाँच दिनपछि भट्टले बुधबार प्रदेशसभामा विश्वासको मत लिएका हुन् ।

प्रदेशसभामा भएको मतदानमा भट्टको पक्षमा ३१ मत परेको छ । विपक्षमा १५ मत परेको छ । मतदानमा नेपाली कांग्रेसका १४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक सांसदले सरकारको विपक्षमा मत दिएका हुन् ।

भट्टलाई नेकपा एमालेका ११ र नेकपाका २० सांसदले समर्थन गरेका छन् । नेकपातर्फ साविक माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका ७ तथा नेकपा एकीकृत समाजवादीका निलम्बित सांसदबाहेक ३ जनाले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका छन् ।

कांग्रेसका पदम शाही, मानबहादुर रावल र मधु भारती भने मतदानमा सहभागी भएनन् ।

५१ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा अहिले केही सांसदको पद रिक्त र केही निलम्बनमा छन् । डडेल्धुराबाट निर्वाचित तारा जोशीले राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएपछि उनको प्रदेशसभा सदस्य पद रिक्त भएको हो ।

यस्तै, कैलालीबाट निर्वाचित प्रकाश देउवाको पद पनि रिक्त छ । कैलालीकै सांसद दीर्घबहादुर सोडारी निलम्बनमा छन् ।

गत भदौ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार बुधबार मत मागेका थिए । मतदानबाट आवश्यक समर्थन जुटाएसँगै भट्ट नेतृत्वको सरकारलाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएको छ ।

मुख्यमन्त्री खगराज भट्ट सुदूरपश्चिम प्रदेश