Logo
१५ वैशाख २०८१, शनिबार

हसिना र साउदबीच बंगलादेशमा भेटवार्ता

अक्षरपाटी
२०८० वैशाख ३१ , आईतबार ०७:०५ मा प्रकाशित

काठमाडौं। बंगलादेशका प्रधानमन्त्री शेख हसिना र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ। बंगलादेशको राजधानी ढाकामा आज उनीहरुबीच भेटवार्ता भएको हो।

भेटका क्रममा दुई पक्षीय हितका बारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ।

भेटका क्रममा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई सुदृढ बनाउने, सीमापार व्यापार, कनेक्टिभिटी, पारवहन, ऊर्जा, शिक्षालगायतका विषयमा जोड दिइएको बताइएको छ।

परराष्ट्रमन्त्री साउद ढाकामा आयोजित छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा भाग लिन शुक्रबार ढाका गएका थिए।

त्यहाँ रहँदा उनले शुक्रबार नै भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका थिए। जयशंकरसँगको भेटमा समग्र दुईपक्षीय सम्बन्ध, सम्पर्क सञ्जाल, सडक सञ्जाल र जनस्तरको सम्बन्धबारे छलफल भएको बताइएको छ।

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न ढाकामा सम्मेलन आयोजना गरिएको थियो।

भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन आयोजना भएको हो।