Logo
१६ चैत्र २०८०, शुक्रबार

क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपानः चिकित्सक

अक्षरपाटी
२०८० वैशाख ३१ , आईतबार ०८:०५ मा प्रकाशित

काठमाडौं। नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको चिकित्सकहरुले बताएका छन्।

क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपान भएको पनि चिकित्सकहरुको भनाइ छ।

आइतबार रिपोर्टर्स क्लबमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालको सहकार्यमा आयोजित धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी विशेषज्ञ चिकित्सकहरुसँगको अन्तरक्रिया कार्यक्रमा बोल्दै चिकित्सकहरुले धुम्रपान नियन्त्रण गर्नसके क्यान्स हुने सम्भावना ८० प्रतिशत घटेर जाने बताएका हुन्।

कार्यक्रमका वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अम्बुज कर्णले नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको बताए।

नेपालमा दिनानुदिन क्यान्सर रोगीहरुको संख्यामा बृद्धि भइरहेको उनको भनाइ थियो। सोही अनुरुप प्रविधि र अस्पतालहरुकोसमेत विकास भइरहेको कर्णले बताए।

‘नेपालमा क्यान्सर रोगको अवस्था भयावह छ । क्यान्सर रोगीहरु दिनानुदिन बढ्दैछन विरामी बढेसँगै उपचारका विधि र पद्धतिहरुसमेत विकास भइरहेका छन्। आज त्यसको प्रयोग हामीसँग पनि छ,’ उनले भने।

क्यान्सरका विरामीलाई सरकारले एक लाखसम्मको उपचारमा सहुलियत दिइरहेको उनले बताए।

विरामीलाई एक लाखको उपचार सुविधाले नपुग्ने उनको भनाइ छ। सरकारले क्यान्सरका विरामीलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने र क्यान्सरको उपचारपछिको जीवनका बारेमा पनि राज्यले सोच्न आवश्यक रहेको उनले औंल्याए।

‘क्यान्सरको मुख्य कारण धुम्रपान हो । यदि धुम्रपानमा नियन्त्रण गर्नसक्यौं भने हामी करिब ८० प्रतिशत क्यान्सरबाट हामी मुक्त हुनसक्छौं,’–उनले भने ।

भक्तपुर अस्पतालका कार्यकारी निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेलले क्यान्सरको प्रमुख कारण सुर्ति सेवन भएको बताए। सुर्ति सेवनलाई रोक्न सके, नियमित कशरत र जीवनशैलीमा ध्यान पुर्याउन सके क्यान्सरको खतरा ९० प्रतिशत कम हुने उनको भनाइ छ।

‘क्यासन्सर हुनुको प्रमुख कारण सुर्ति सेवन हो । त्यसबाहेक जीवनशैली हो । आजकाल मान्छेको तौल बढ्दै गइराखेको छ। शारीरिक कसरतहरु घट्दै गएको छ। अर्को भाइरसले गर्दा पनि क्यान्सर हुन्छ। पाठेघरको क्यान्सर हुने कारण भाइरसले गर्दा नै हो। क्यान्सरका मल्टिपल कारण हुन्छन्। ९० प्रतिशत कारण वातावरणीय कारण हो। त्यो हाम्रै हातमा हुन्छ । जेनेटिक फ्याक्टर्सका कारणले पनि क्यान्सर हुन्छ,’ उनले भने ।

आफूहरुको फोकस भरसक क्यान्सर लाग्न नदिनेमा हुनुपर्ने उनको भनाइ छ । क्यान्सरलाई रोकथाम गर्न सकिने उनले बताए।

क्यान्सर लाकेका व्यक्तिहरुले उपचार गरेमा निको हुने उनले बताए । क्यान्सरका विरामीलाई माया, ममता र हेरविचारको एकदमै आवश्यक पर्ने उनले भनाइ छ।

केही वर्षअघिको भन्दा क्यान्सरको विरामीको पीडा कम हुँदै गएको डा. पौडेलले बताए।

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनी कुमार झाले क्यान्सरको प्रमुख कारण सुर्ति सेवन र जीवनशैली रहेको औंल्याए।

नेपालमा क्यान्सरविरुद्धको भ्याक्सिनको धेरै चर्चा हुने गरे पनि त्यसको परिपूर्ति गर्न अहिले असम्भव रहेको उनको भनाइ छ।

विकशित देशमासमेत क्यान्सरविरुद्धको भ्याक्सिन अभाव रहेको उनले बताए । त्यसका लागि नेपाल सरकारले जि टु जि प्रक्रियाबाट काम सुरु गरेमामात्रै सम्भव रहेको उनले बताए।

‘क्यान्सरको एउटा पाटो त जीवनशैली नै हो। दोस्रो कुरा सरकारले दिन पर्ने बजेट र त्यसको उपयोग, हामी क्यान्सरको भ्याक्सिन, भ्याक्सिन त भनिरहेका छौं। हुन पनि पर्छ र पाउन पनि पर्छ । तर, भ्याक्सिन ल्याउने कहाँबाट ? यो जि टु जीमार्फत भ्याक्सिन उपलब्ध गराउने हो भनेमात्रै सम्भव छ,’– उनले भने ।

क्यान्सरका क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल बढाउन नेपाल सरकारले काम गर्न पर्ने उनको भनाइ छ । थप जनशक्तिको विकास हुन पनि आवश्यक रहेको उनले बताए ।