Logo
२७ वैशाख २०८१, बिहीबार

नक्कली शरणार्थीका लागि फाराम भर्न र पैसा उठाउन कार्यालय नै खाेलेका थिए आङटावाले

अक्षरपाटी
२०८० जेठ ३ , बुधबार ०८:०५ मा प्रकाशित

काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने भन्दै पैसा उठाउन तथा फाराम भर्ने प्रयोजनका लागि कांग्रेस पूर्वसांसद आङटावा शेर्पाले ललितपुरमा कार्यालय नै सञ्चालन गरेको पाइएको छ।

यसरी पैसा उठाउन तीन चरणमा तीन ठाउँमा कार्यालय राखिएको पीडितहरूले बताएका छन् । यही प्रकरणमा शेर्पा अहिले हिरासतमा छन्।

ठगी धन्दाका लागि खोलिएको कार्यालयमा पूर्वसांसद शेर्पा आफैँ बस्थे। उनको छुट्टै च्याम्बर थियो भनेर आजको नयाँ पत्रिकामा समाचार छ।

आवेदकलाई विश्वासमा पार्न तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पनि वेलावेला उनको कार्यालयमा पुग्ने गर्थे।

रेटिनासहितको फोटो, डिजिटल फिंगर प्रिन्ट संकलन र फाराम भराइसकेपछि प्रत्येक आवेदकसँग ६ लाख रुपैयाँ असुल गरिन्थ्यो।

अधिकांशले आङटावा शेर्पाको नाममै चेक काटेको र नगद दिनेहरूले पनि उनकै बैंक खातामा जम्मा गरिदिएको पीडितहरूको भनाइ छ।

०७० मा संविधानसभा सदस्य रहेका रामेछापका शेर्पा ठगीमा मुछिएका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणनिकट मानिन्छन्।

गत १८ चैतमा प्रहरी कार्यालयमै पुगेर उनले पैसा फिर्ता गराइदिने आश्वासन दिँदै खाणलाई बयानमा नपोल्न अभियुक्तहरूसँग आग्रह गरेका थिए।

त्यसको दुई–चार दिनमै केही रकम फिर्ता पनि गरिएको सूचना प्रहरीले पाएको छ। पूर्वगृहमन्त्री खाण अहिले प्रहरी हिरासतमै छन्।

पीडितका अनुसार आवेदन भरेका अधिकांश युवा दोलखा र रामेछापका छन्। शेर्पाले नक्कली भुटानी शरणार्थी बनाएबापत ५० लाख तिर्नुपर्ने आवेदकहरूलाई बताएका थिए।

जसमध्ये ६ लाख रुपैयाँ फाराम भर्ने क्रममा लिने भनिएको थियो। नक्कली भुटानी शरणार्थीको कार्ड आएपछि २४ लाख र बाँकी २० लाख भिसा झरेपछि दिने सहमति गरिएको थियो।

यो धन्दामा शेर्पाले तीन सयभन्दा धेरैसँग रकम उठाएको पीडितहरूको भनाइ छ।