Logo
२७ वैशाख २०८१, बिहीबार

सुदूरपश्चिमको कृषि र पर्यटन पूर्वाधारमा ध्यान दिन संघीय सांसदहरुको सुझाव

अक्षरपाटी
२०८० जेठ ३ , बुधबार ०७:०५ मा प्रकाशित

काठमाडौं। सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले आगामी बजेटमा सुदूरपश्चिमको कृषि र पर्यटन पूर्वाधारमा ध्यान दिन सुझाव दिएका छन्।

आज काठमाडौंमा आयोजित सुझावका लागि राखिएको कार्यक्रममा संघीय सांसदहरुले प्रदेशको आवश्यकता र स्रोतको सुनिश्चितता गरेर बजेट ल्याउन पनि सुझाए।

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा सांसदहरु रमेश लेखक, बद्री पाण्डे र शेरबहादुर कुँवरलगायतले धारणा राखेका थिए।

उनीहरुले विगतमा स्रोत सुनिश्चित नगरेरै बजेट ल्याउँदा कार्यान्वयन गर्न र लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको पनि स्मरण गराएका थिए।

काँग्रेस सह–महामन्त्री तथा प्रतिनिधि सभा सदस्य बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको प्रमुख प्राथमिकता पर्यटक पूर्वाधार र कृषि हुनुपर्ने धारणा राखे।

उनले सुन्दर सुदूरपश्चिम नारा जनस्तरमा स्थापित भएकाले त्यसलाई सार्थक बनाउन पनि पर्यटक क्षेत्रका पूर्वाधार निर्माणमा विशेष जोड दिन सुझाव दिए। उनले सुदूरपश्चिममा पूर्वाधारहरु बन्नै नसकेको भन्दै प्रदेश सरकारले बनाउन पहल गर्नुपर्ने बताए।

सांसद पाण्डेले रैथाने बालीहरु गहुँ, कोदो, फापर, मारस्या धानलगायत बालीहरु नाश हुँदै गएकाले युवा जनशक्तिलाई बाली प्रर्वद्र्धन र संरक्षणमा लाग्न प्ररेरित गर्ने खालको बजेट आउनुपर्ने बताए।

काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रदेश सरकारले करका दर निर्धाण गर्दा विशेष ध्यान दिनुपर्ने बताए।

उनले बजेटको अन्तिम समयमा र गोप्पे रुपमा मात्र करको दर हेरफेर गर्न सुझाव दिए। उनले करको विषयमा धेरै विवाद आउने गरेकोतर्फ सचेत गराउँदै दर निर्धारण गर्दा विशेष शतर्कता अपनाउन आग्रह गरे।

करको दर निर्धारणको विषय संघीय सरकारमा पनि निरन्तर विवादमा आएको स्मरण गराउँदै प्रदेशमा त्यसो नहोस भन्ने सुझाव दिए।

कार्यक्रममा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले प्रदेश सरकारले बजेट बनाउँदा राजश्व निर्धारणको क्षेत्र पहिचान गर्न आवश्यक रहेको बताए। उनले प्रदेश सरकारले बजेट बनाउँदा पुँजी निर्माणलाई प्राथमिकता राख्न सुझाए।