Logo
२२ पुस २०८१, सोमबार

विगतका सबै काण्ड खोलिन्छन्, लडाकु शिविर प्रकरणमा दोषी ठहरे म जेल जान तयार छु : प्रधानमन्त्री दाहाल

अक्षरपाटी
२०८० जेठ ४ , बिहीबार ०४:०५ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री पुष्पकम दाहालले लडाकु शिविरमा भ्रष्टाचारको कुरामा कसैले उजुरी दिएर छानबीनका क्रममा दोषी ठहरे आफू जेल जान तयार भएको बताएका छन्।

लडाकु शिविरमा भ्रष्टाचारको कुरा कपोलकल्पित र पूर्वाग्रही भएको समेत उनले बताए। यद्यपि उक्त विषयमा उजुरी परे छानबिनका लागि आफू तयार रहेको प्रधानमन्त्रीले बताए।

आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले क्यान्टोनमेन्ट मात्रै होइन सबै भ्रष्टाचार काण्डको छानबिन गर्न अपिल गरे। भने, ‘क्यान्टोनमेन्दट मात्रै किन? आउनुस्, साझा संकल्प गरौं २०४७ साल यताका सबै भ्रष्टाचार काण्ड र उच्च पदस्थहरुको सम्पत्ति छानबीन गरौं।’

प्रधानमन्त्री दाहालले भ्रष्टाचारलाई कुनै पनि हालतमा छुट नदिइने बताए। भ्रष्टाचारविरुद्ध सरकार शून्य सहनशीलताको नीतिको प्रभावकारी कार्यान्वयन गरेर सबै प्रकारका अनियमितता, विकृति र विसंगतिलाई अन्त्य गर्ने दृढ इच्छाशक्तिका साथ अघि बढिरहेको पनि उनले बताए।

नक्कली भूटानी शरणार्थीलाई मात्रै सरकारले ध्यान दिएको छ कि? भन्ने प्रचार र आशंका गरिएकोप्रति प्रधानमन्त्री दाहालले भने, ‘अहिलेको सरकारले यो मुद्दा मात्रै होइन, अन्य तमाम विगतका ठूलाठूला विवादका घटना छानबीन गर्ने, सम्पत्ति सुद्धिकरण गर्ने, राजस्वका ठूलाठूला चलखेल, पूँजि बजारका ठूला ठूला सेटिङ्ग भत्काउन सुरु भइसकेको छ। यसका लागि आवश्यक परे ऐनमा संशोधन गर्ने, ऐन निर्माण गर्ने काम सरकारले गर्छ।’

उनले देश जसरी आर्थिक, राजनीतिक, सांस्कृतिक रुपमा अप्ठ्यारोमा परेको छ, त्यसको मुख्य कारण संस्थागत भ्रष्टाचार भएको ठोकुवा पनि गरे।

निकै दृढताका साथ प्रस्तुत भएका प्रधानमन्त्री दाहालले भने, ‘हामीलाई अहिले आफूलाई सच्याउने अवसर छ। भ्रष्टाचार, विकृति, विसंगतिविरुद्ध नयाँ अभियान सञ्चालन गर्ने अवसर छ। लोकतन्त्र सबैभन्दा राम्रो व्यवस्था हो भन्ने मान्यता स्थापित गर्ने अवसर छ। यो अवसर कसैले गुम्न दिनु हुँदैन, म दिइँदिन्।’

प्रधानमन्त्री दाहालले सबै प्रकारका अनियमितता र भ्रष्टाचारजन्य कार्यहरूको अधिकारप्राप्त निकायबाट छानबिन गरी टुङ्गोमा पुर्याउन सरकार प्रतिवद्ध भएको बताए।

भ्रष्टाचार नियन्त्रणसम्बन्धी विद्यमान ऐन कानुनमा संशोधन गरी सुशासन कायम गर्न आवश्यक पहलकदमी लिने पनि उनले बताए।

नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाउने संगठित अपराधका बारेमा सरकार दृढ भएको भन्दै उनले कसैप्रति आग्रह, पूर्वाग्रह नराखेर कुनै पनि अपराधीलाई छुट नदिइने उनले प्रतिवद्धता जनाए।

शरणार्थी प्रकरण अब कुनै पार्टी विशेषको, सरकार विशेषको, नेता विशेषको मात्र नरहेर यो आम जनताको विषय भइसकको उनले बताए।

‘राष्टिय मात्र होइन अन्तर्राष्ट्रिय चासोको विषय भइसकेको छ। सबै अन्तर्राष्टिय संघ संस्थाहरुले गम्भीर रुपले हेरिरहेकको विषय भएको छ। दोषी नछोडने निर्दोष नपार्ने निष्कर्श सरकारको छ’, उनले भने,’अनुसन्धानलाई तात्विक निष्कर्शमा पुर्याउन सरकार दृढ छ।’

प्रधानमन्त्री दाहालले गौर हत्याकाण्ड, दरबार हत्याकाण्ड, मदन आश्रित हत्याकाण्डको समेत नयाँ किसिमले छानबीन हुनुपर्ने धारणा राखे।

पुष्पकमल दाहाल