Logo
१४ वैशाख २०८१, शुक्रबार

अभिनेत्री विपनालाई ‘यूग नायिका’ को उपाधि

अक्षरपाटी
२०८० जेठ १४ , आईतबार ०५:०५ मा प्रकाशित

काठमाडौं। नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री विपना थापालाई शनिवार ‘यूग नायिका’ को उपाधि प्रदान गरिएको छ।

२०५० को दशककी सफल अभिनेत्रीलाई टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल ईन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको तेस्रो संस्करणको स्पर्श म्युजिक भिडियो अवार्डमा ‘यूग नायिका’ को रुपमा सम्मानित गरेको हो।

अभिनेत्री थापालाई उनले अभिनय गरेको पहिलो नेपाली फिल्म जन्मभूमी’ का निर्देशक तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले दोसल्ला ओढाएर सम्मानित गरेका हुन्।

नृत्य निर्देशकहरु राजु शाह, कमल राई तथा छायांकार शिव ढकालले अभिनेत्री थापालाई संयुक्त रुपमा सम्मानित गरेका हुन्।

आईएमई पेद्वारा पावर्ड गरिएको तथा महेरु फेसन एण्ड डिजाइनको प्रस्तुतिमा शनिवार काठमाडौंमा आयोजित यो विशेष समारोह प्रभु बैंकको सहकार्यमा सम्पन्न भएको हो।

समारोहमा अघिल्लो वर्षका उत्कृष्ट म्युजिक भिडियो तथा तीनका स्रष्टालाई पुरस्कृति गरिएको थियो। अवार्डको जूरी सदस्यमा मेकअप आर्टिष्ट ऋतु राणा, लोक गायक नमराज ढुंगाना, गायक नविन कुमार पौडेल, संगीतकार राजेन्द्र बजगाईं तथा मोडल सञ्चिता शाही रहेका थिए।

समारोहमा नम्रता सापकोटा, ऋचा थापा, प्रनिमा दाहाल, प्रविणा श्रेष्ठ, दावा तामाङ, प्रशान्त मगर तथा किड्स क्यापिटल नेपाल २०२२ तथा २३ का आश्रिया थापा, आरोन श्रेष्ठ, सुहान पुन, मीमिक राना मगर, दिपशन चिलुवाल, इश्लिया गुरुङले विशष प्रस्तुति दिएका थिए।