Logo
१४ वैशाख २०८१, शुक्रबार

आवादी जग्गा देखाएर खैरालामा वन क्षेत्रका सल्ला काटिएको गुनासो, वन अधिकृत ढकाल भन्छन्ः नापीले छुट्याएकै ठाउँका रुख काटेका हौँ

अक्षरपाटी
२०८० जेठ १८ , बिहीबार ०८:०६ मा प्रकाशित

चौमाला। कैलालीको चुरे गाउँपालिक ४ साविक खैराला गाविसका गर्भामा अबैध रुपमा सल्लाका रुख कटान गरी बिक्री गरेको भन्दै विवाद चुलिएको छ।

गत चैतमा नापी कार्यालय कैलालीका नापी अधिकृत भरत ऐर र अमिन गणेश बम गएर नाम नक्कास गरेर आवादी भनेर छुट्याएकै स्थानका सल्ला काटिएको सब डिभिजन वन कार्यालय खैरालाका अधिकृत मनोज ढकाल बताउँछन्।

चैत महिनामा आवादी जग्गा देखाएर वन क्षेत्रभित्रका रुख काटिएको भन्दै स्थानीयले आवाज समेत उठाएका थिए।

सब डिभिजन वन कार्यालय खैरालाका अनुसार गत चैत महिनामा विभिन्न कित्तामा पर्ने ६५ वटा सल्लाका रुख मात्रै काटिएको छ।

स्थानीय बासिन्दा भने आवादी भनेर भैरव बेताल सामुदायिक वन मटेला र कोट, लाली गुराँस सामुदायिक वन साँटामा ८२ वटा सल्लाका रुख कटान गरिएको दाबी गर्छन।

सब डिभिजन वन कार्यालय खैरालाका वन अधिकृत ढकाल भने नापी कार्यालयका अधिकृत र अमिनको नापजाँचका आधारमा सल्लाका रुख काटिएका र काटिएका रुखको सार्बजनिक मुचुल्लका तयार गरिएकाले थप शंका लागे उपल्लो निकायबाट छानबिन गरे सत्य बाहिर आउने बताउँछन्।

उनले चुरे गाउँपालिका ४ का जनप्रतिनिधिका तर्फबाट कार्यपालिका सदस्य पुष्पा बरैले सार्बजनिक मुचुल्कामा हस्ताक्षर गरेको समेत बताए। वडा अध्यक्ष सिबी लामिछानेसमेत सम्पूर्ण प्रक्रिया पूरा गरेको दाबी गरे।

चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटीले काटिएका सबै रुख आवादीका मात्रै नभएर वन क्षेत्रका पनि भएको जिकिर गरे।

उनले आवादीको देखाएर वन क्षेत्रभित्र पर्ने सल्लाका रुख काटिएको बताए। आवश्यक छानबीन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनले भनाइ छ।

तर सब डिभिजन वन कार्यालय खैरालाका वन अधिकृत ढकाल भने नापीले जहाँ आवादी भन्यो त्यहीँका रुख प्रक्रिया पुर्याएर काटिएको बताउँदै, वन कार्यालय अधिक्रमण हटाएको आक्रोस यता पोख्न खोजेको जिकिर गर्छन।

स्थानीय बासिन्दा पनि सबै काटिएका सल्लाका रुख आवादी जमिनका मात्र नभएर वन क्षेत्रका समेत भएको बताउँछन्।

स्थानीय जनप्रतिनिधि, नापीका कर्मचारी र केही स्थानीय नेताहरुको मिलोमतोमा सल्लाका रुख काटेर धनगढीस्थि एक सःमिलमा बेचिएको स्थानीय बासिन्दा बताउँछन्।

चुरे गाउँपालिका सल्ला कटान