Logo
६ चैत्र २०८०, मंगलबार

धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रका लागि सत्याग्रह !

अक्षरपाटी
२०८० जेठ २१ , आईतबार ०७:०६ मा प्रकाशित

काठमाडौं। विभिन्न राजनीतिक दल र संघ÷संस्थाहरुले २०४७ सालको संविधान व्युँताउन सत्याग्रहको तयारी गर्ने भएका छन् ।

लोकतन्त्र र गणतन्त्र देशका लागि अफापसिद्ध भएको भन्दै उनीहरुले २०४७ सालको संविधान स्थापना, संवैधानिक राजसंस्था र धार्मिक स्वतन्त्रतासहितको हिन्दू राज्यको माग गर्दै सत्याग्रहको आयोजना गरेका हुन्।

सत्याग्रह संयोजक समितिले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आगामी जेठ २३ गतेदेखि माइतीघर मण्डलामा आन्दोलनको सुरूवात गरिने जानकारी गराएको हो।

‘सरकारमा रहेका पदाधिकारीहरु इन्डिया जाने होडबाजी चलेको छ। गणतन्त्र र लोकतन्त्र हाम्रो देशका लागि अफापसिद्ध भएको छ। २०४७ सालको संविधानका लागि हामी यथाशिघ्र सत्याग्रह गर्ने हामीले तयारी गरेका छौं,’– कार्यक्रम सञ्चालक नरेशमान सिंहले भने।

उने उक्त सत्याग्रहमा सहभागी हुनका लागि संघ÷संस्थाहरुले आफ्नो व्यानरसहित कार्यक्रममा सहभागी हुनसक्ने समेत जानकारी गराए ।

सत्याग्रह अभियानका संस्थापक अध्यक्ष किशोरी महतोले अबको सत्याग्रह जनताले राजा गुहार्नका लागि भएको बताए । आफूहरु आन्दोलनको नाममा कुनै नेपालीको रगत नबगोस् भन्ने कुरामा सचेत रहेकाले सत्याग्रह सुरु गर्ने निर्णय गरेको उनले बताए।
‘अबको यो सत्याग्रहबाट हामी जनताले राजालाई गुहार्नका लागि हामी जान लागेका छौं। तर, हामी आन्दोलन चाहँदैनौं। हामी जनताको रगत बगोस् भन्ने चाहँदैनौं । हामीबीचमा गृहयुद्ध भयो भने विदेशीले सत्ता कब्जा गर्नसक्छ । त्यसैले हामीले सत्याग्रहको बाटो रोजेका छौं,’ उनले भने।

अधिवक्तासमेत रहेका अभियन्ता हरिबोल भट्टराईले देशलाई भ्रष्टाचारको अजिंगरले निल्नै लागेको टिप्पणी गरे।

नेपाली नागरिकलाई भुटानी बनाएर पैसा आर्जन गर्ने र जनताको स्वतन्त्र मताधिकारको खिल्ली उठाउने कामले अहिलेको संविधानको औचित्यमाथि प्रश्न उठाइसकेको उनको भनाई छ।

स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजालले २०४७ सालको संविधान, राजसंस्था र संवैधानिक राजतन्त्रको मागसहित आफूहरु सत्याग्रहमा होमिन लागेको बताए।

कार्यक्रमका अर्का वक्ता सोमविक्रम सिंहले तीन करोड नेपालीमा राष्ट्रियता सीमित व्यक्तिमा मात्रै बिझेको टिप्पणी गरे। जनताले राष्ट्रियताको पक्षमा मनन् नगरेसम्म यो आन्दोलन जित्न नसकिने उनले बताए । राष्ट्र र राष्ट्रियताको रक्षाका लागि जनता सडकमा उतार्नुको विकल्प नरहेको उनको भनाइ छ।

‘जबसम्म जनताले राष्ट्रियता विझेको मनन् गर्दैन तबसम्म हामीले आन्दोलन जिन्त सक्दैनौं । जनतालाई हामीले बुझाउन सकेका छौं वा छैनौं भन्ने मनन गर्न आवश्यक छ । जनता कसरी राष्ट्र र राष्ट्रियताका लागि उतार्ने हो ? सोचौं,’ सिंहले भने।

अर्का वक्ता कपिलमान खड्गीले सत्याग्रहमा समर्थन जनाउँदै सबै शक्ति एक ठाउँमा आएको खण्डमा २०४७ सालको संविधान व्युँतिनलाई समय नलाग्ने बताए।

‘सबै राष्ट्रवादी शक्तिहरु एकै ठाउँमा आउने हो भने धेरै समय लाग्दैन। ०४७ सालको संविधान राजा, जनता, प्रजा सबै अट्ने संविधान हो। सशक्त रुपमा जाने हो। एकै ठाउँमा उभिएर एकै ठाउँमा कार्यक्रम गरौं। राजसंस्थासहितको ०४७ सालको संविधान मागौं,’ उनले भने।

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष शेखरजंग रायमाझीले ०४७ सालको संविधानको माग गर्दै सत्याग्रह अगाडि बढ्नु सकारात्मक हुने बताए। ०७२ सालको नेपालको संविधान नेपालको स्वार्थमा नरहेको उनको आरोप छ।

राष्ट्रपति रामचन्द्र पौडेलले विदेशीको स्वार्थ पुरा गर्नका लागि नागरिकता विधेयक ल्याएर २०७२ को संविधान च्यातचुत पारेको आरोप उनले लगाए। राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकलाई अहिलेको ताजा जनादेशबाट बनेको संसद्ले नचिन्ने उनको दाबी छ।

‘अहिले फेरि राष्ट्रपतिजीले असंवैधानिक तरिकाले, प्रक्रिया मिचेर विदेशी स्वार्थ पुरा गर्नका लागि संविधान फेरि च्यात्नु भयो। क्षेद्विच्छेद पार्नुभयो । नागरिकता विधेयक प्रमाणीकरण भयो राष्ट्रपतिबाट। त्यो विधेयक अहिले ताजा जनादेशमा आएको संसद्ले चिन्दैन। संसद्ले नचिन्ने विधेयक प्रमाणीकरण गर्नु भनेको संविधान च्यात्नु र अपहेलना गर्नु हो,’ उनले भने।

सत्याग्रह अभियानका राजनीतिक संयोजक अनिल योगीले २०४७ सालको संविधानको पक्षमा उभिनु राष्ट्रिय स्वाधीनताको विषय भएको बताए। शासक ठीक भएन भने सुनकै अक्षरले लेखेको संविधान भएपनि त्यसले काम नगर्ने उनको भनाइ छ।

‘२०४७ सालको संविधानमा फर्किनुपर्छ भन्ने कुरा स्वाधीन विषय हो । यसमा फर्किनुपर्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो । कतिपय देशमा संविधान नै छैन । चलिराखेको छ । उदाहरण बेलायतको दिन्छु । जहाँ संविधान छ, त्यहाँ पनि राष्ट्रको हितमा छलफल गरेरमात्रै निर्णयले लिइने गरिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा उन्नत जातको मुर्रा राँगा उपहार दिनुले नेपालीलाई लज्जाबोध गराएको उनले बताए। यस्ता क्रियाकलापबाट नेपालीलाई होच्याउने काम भइरहेको उनको दाबी छ।

नेपाली कांग्रेस (विपी) का नेता सुशिलमान शेरचनले २०४७ सालको संविधान व्युँताउनका लागि अहिले सही समय भएको बताए।

विपी कांग्रेसको नीति पनि संवैधानिक राजसंस्था, धार्मिक स्वतन्त्रताहितको हिन्दु राष्ट्र भएको उनले बताए।

‘बल्ल समय आएको छ, सही आन्दोलन अब सुरु हुन थालेको छ । नेपाल आमा रोइरहेको अवस्था छ । हामी नेपाली कांग्रेस विपी पनि २०४७ कै संविधानमा टेकेर अगाडि बढ्ने भन्ने हाम्रो पार्टीको नीति छ,’ उनले भने।

मिसन नेपालका संस्थापक केपी शर्मा पन्तले नेपालको पवित्र भूमिलाई बचाउन, धर्म, संस्कृति, इतिहास र पहिचानलाई विश्वमाँझ चिनाउनका लागि यो सत्याग्रहमा समर्थन गरेको बताए। आफ्नो योग्यता र क्षमताले भ्याएसम्म यस अभियानमा सहभागी हुन उनले आह्वान गरे।