Logo
२१ वैशाख २०८१, शुक्रबार

अर्थमन्त्रालयमा आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको पूर्व तयारी

अक्षरपाटी
२०८० असार ८ , शुक्रबार ०८:०६ मा प्रकाशित

काठमाडौं ८ असार। अर्थ मन्त्रालयले आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ।

बिहीबार मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको हो।

सो अवसरमा अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्त्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई आग्रह गरे।

मन्त्री महतले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै ठोस कार्ययोजना बनाई समय तालिका बनाएर अगाडि बढ्न सचिवहरूलाई निर्देशन दिए।

उनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश भएका बजेट प्रणाली सुधारका कार्यक्रमहरूको कार्यान्वयनमा दृढ भई तयारी सुरु गर्न समेत निर्देशन दिए।

उनले भने, ‘बजेट प्रस्तावमा जे प्रतिबद्धता भएको छ त्यो कार्यान्वयन हुन्छ।’

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ र मुख्य सचिव बैकुण्ठ अर्यालले समेत बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिए।

बैठकमा अर्थ मन्त्रालयको तर्फबाट चालु र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका सम्बन्धमा भएको प्रस्तुतिमाथि मन्त्रालयका सचिवहरूले आ–आफ्नो धारणा राखेका थिए।

अर्थमन्त्रालय प्रकाशशरण महत