Logo
२३ वैशाख २०८१, आईतबार

बाढी पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध, २१ वटा सडक एकतर्फी

अक्षरपाटी
२०८० साउन १४ , आईतबार १२:०७ मा प्रकाशित

काठमाण्डौ,१४ साउन। पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । बिहान ९ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक ठप्प भएको हो ।

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउन डेढ दुई घण्टा लाग्ने कार्यालयले जनाएको छ ।

पहिरोका कारण यो सडक खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ । बाढी पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्डसहित विभिन्न सात सडक अवरुद्ध भएका छन् । सडक विभागका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गतको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक खण्ड अवरुद्ध छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ को ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो । गएरातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै, तमोर करिडोर अन्तर्गतको चतरा मूलघाट माँझीटार अमरापुरडाँडा गणेशचोक सडक खण्ड, तानसेन रिडी कोरला सडक, डुम्र बेसीसहर चामेको लमजुङखण्ड तथा डुम्र बेसीसहर चामेको मनाङखण्डमा पहिरोको कारण सडक अवरुद्ध छ ।

यस्तै २१ वटा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेका विभागले जनाएको छ ।