Logo
२३ कात्तिक २०८२, आईतबार

गए रातिदेखि काठमाडौंमा अविरल वर्षा, विभिन्न क्षेत्र डुबानमा

अक्षरपाटी
२०८० साउन २३ , मंगलबार १२:०८ मा प्रकाशित

काठमाडौं २३ साउन। गत रातिदेखि काठमाडौंमा परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्र डुबानमा परेका छन्।

वर्षाका कारण काठमाडौं उपत्यकाको विभिन्न क्षेत्र जलमग्न भएको छ।

भारी वर्षाका कारण काठमाडौंको ढुङ्गेधारा क्षेत्र, कपन, गौरीघाट, गुह्येश्वरी, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भारी वर्षाले काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्। डुबान क्षेत्रमा प्रहरी टोली बिहानैदेखि खटिएको छ।

सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पेट्रोलिङ र माइकिङ गरिएको छ।

वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ। काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ।

विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।