Logo
२२ वैशाख २०८१, शनिबार

सडक आन्दोलनको तयारीमा एमाले, आजबाट केन्द्रीय कमिटी बैठक बस्दै

अक्षरपाटी
२०८० फागुन ८ , मंगलबार ११:०२ मा प्रकाशित

काठमाडौं,८ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सरकारविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने तयारी गरेको छ। सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गर्न थालेको र राष्ट्रिय स्वाधीनतामाथि समेत गम्भीर खालका आँच आउने काम गरेको निष्कर्षसहित एमालेले सडक आन्दोलनको तयारीमा जुटेको हो।

एमालेको पछिल्लो समय केन्द्रदेखि जिल्लासम्मका संगठन चलायमान भएका छन्। मिसन ग्रासरुट अभियान र मध्यपहाडी लोकमार्ग केन्द्रित गरिएको अभियानका चलाएको एमालेले प्रदेश अधिवेशन सकिएलगत्तै जिल्ला अधिवेशन पनि धमाधम गरिरहेको छ।

महासचिव शंकर पोखरेलका अनुसार आजबाट बिहीबारसम्म केन्द्रीय कमिटी बैठक बस्दैछ। केन्द्रीय कमिटी बैठकका जनपरिचालन र जनदबाब, राजनीतिक स्थितिको समीक्षा, संगठनात्मक प्रतिवेदन, संगठन शुद्धीकरणबारे विशेष कार्य योजना तर्जुमा प्रमुख एजेन्डा तय गरेको महासचिव पोखरेलले जानकारी दिए।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसायिक परिस्थितिबारे विश्लेषण गर्ने र त्यसमा सरकारको काम कारबाही, पार्टीले तत्काल गर्नुपर्ने कामबारे निर्देशन दिने बताइएको छ। गठबन्धन सरकारको कारण राष्ट्रिय हित, जनसरोकार र सुशासनका विषयमा प्रश्नमा गम्भीर बिचलन आएको एमालेको दाबी छ।

बिहीबार बसेको सचिवालय बैठकले सरकारविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेपछि एमालेको भातृसंगठन अनेरास्ववियूले समेत चरणबद्ध आन्दोलन गर्ने घोषणा घोषणा गरेको छ।