



धनगढी । सामाजिक उत्तरदायित्व अन्तर्गत निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. धनगढीले डोटीको जोरायल गाउँपालिका–६ निरौलीस्थित श्री रघुनाथ माध्यमिक विद्यालयलाई अत्यावश्यक औषधि सहयोग गरेको छ ।
गत वैशाख २० गते आएको हावाहुरीका कारण विद्यालयको छात्रवाससहित विभिन्न संरचनामा क्षति पुगेपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य उपचारमा सहयोग पुग्ने उद्देश्यले हस्पिटलले औषधि हस्तान्तरण गरेको जनाएको छ ।
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. का अध्यक्ष तिर्थराज पन्तले विपद्को समयमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई सँगसँगै अघि बढाउन आवश्यक रहेको बताउँदै आगामी दिनहरूमा पनि विद्यालय तथा स्थानीय समुदायलाई आवश्यक सहयोग निरन्तर गरिने जानकारी दिनुभयो ।
उहाँले सामाजिक सेवामार्फत दुर्गम क्षेत्रमा रहेका विद्यार्थी तथा नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले निसर्ग हस्पिटल निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, विपद्का कारण प्रभावित विद्यालय तथा विद्यार्थीहरूको साथमा संस्थागत रूपमा निरन्तर उभिने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धनबहादुर पुनमगरले कठिन परिस्थितिमा विद्यालय र विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै सहयोग गरेकोमा निसर्ग हस्पिटल परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यस्ता सामाजिक तथा मानवीय सहयोगले प्रभावित विद्यार्थीहरूलाई राहत पुग्नुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो ।
स्थानीयवासीहरूले पनि विपद्को समयमा गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत निसर्ग हस्पिटलले गरेको कार्य प्रशंसनीय रहेको बताएका छन् ।
औषधि सहयोग निसर्ग हस्पिटल



