Logo
१५ वैशाख २०८१, शनिबार

सीआईबीलाई बयान दिएपछि विनोद चौधरी भन्छन्-मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउन पर्दैन

अक्षरपाटी
२०८० चैत्र ८ , बिहीबार ११:०३ मा प्रकाशित

काठमाडौं,८ चैत । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् ।

सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)मा बिहीबार बिहान बयान दिएपछि पत्रकारहरुमाझ उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका हुन् ।

बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको जिकिर गर्दै चौधरीले भने, ‘उद्यमलाई राजनीतिकरण गर्ने, उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गर्ने कुरा प्रष्टसँग देखियो ।’

यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्रलाई, उद्यमीलाई र लगानीकर्तालाई विशुद्ध राखिनुपर्ने चौधरीको भनाइ छ ।

आफू सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको बताउँदै उनले भने, ‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि नेपालभरीका र विश्वभरीका युवाहरुले, नेपालका रोजगारदाताहरुले, करदाताहरुले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । मैले मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन ।’

आफू नवलपरासी पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद भएको र आफ्नो भूमिका त्यही रुपमा अगाडि बढाएको चौधरीले बताए ।

सरकारको नाममा रहेको बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा विनोद चौधरीसमेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर लिमिटेडको नाममा गैरकानुनी रुपमा ल्याएको खुलेपछि विनोद चौधरी पनि अनुसन्धानमा तानिएका हुन् ।